आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

ग्रीसले १० हजार आप्रवासीलाई सीमामा रोक्यो

आइतबार, फाल्गुन १८ २०७६

कास्टानिज, ग्रीस, ग्रीसले टर्कीको सीमाभित्र प्रवेश गर्न चाहने झण्डै १० हजार आप्रवासीलाई सीमामै रोकेको ग्रीसको सरकारले जनाएको छ । सरकारी स्रोतले गैरकानुनीरुपमा प्रवेश गर्न खोज्ने झण्डै नौ हजार ९७२ जना आप्रवासीलाई एभरोस क्षेत्रतर्फ फर्काइएको जनाएको छ । यो क्षेत्र टर्कीसँग सीमा जोडिएको छ । टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानले गत साता युरोपतर्फको सीमा खुला गरिदिने धम्की दिएसँगै ठूलो सङ्ख्यामा शरणार्थी ग्रीस र टर्कीको सीमा क्षेत्रमा आइपुगेका थिए ।

सिरियाली द्वन्द्व समाधानमा युरोपेली सरकारमाथि दबाब दिन टर्कीका राष्ट्रपतिले यस्तो कदम चालेका हुन् । हालैमात्र सिरियाको इड्लिबमा सिरियाली फौजको हवाई कारबाहीमा दर्जनौं टर्केली सेनाको ज्यान गएपछि परिस्थिति जटिल बनेको छ । एक जना सरकारी स्रोतले सेना र प्रहरीले आफ्नो भूमिमा प्रवेश गर्न चाहने हजारौँ सिरियाली शरणार्थीलाई सीमामै रोकेको बताएको छ । आइतबार बिहानै कास्टानिज वन क्षेत्रको बाटो हुँदै ठूलो समूह ग्रीसतर्फ प्रवेश गर्न खोजेको स्रोतले बताएको छ । ग्रीकका अधिकारीले ७३ जना आप्रवासीलाई पक्राउ गरिएको बताएका छन् । उनीहरु इड्लिबका नभई अफगानिस्तान, पाकिस्तान र सोमालियाका नागरिक छन् ।

झण्डै १३ हजार आप्रवासी टर्की–ग्रीस सीमा क्षेत्रमा भेला भएका छन् । अन्तरराष्ट्रिय आप्रवासी संगठनका अनुसार यी व्यक्तिसँग बालबालिका र परिवारका अरु सदस्यसहित छन् । ग्रीसका सुरक्षाकर्मीले इभरोस नजिक आसपास गस्ती बढाएका छन् । उनीहरुले लाउडस्पिकरबाट आफ्नो भूमिमा प्रवेश नगर्न चेतावनीसमेत दिएका छन् । कतिपय स्थानमा प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने आप्रवासीलाई नियन्त्रणमा लिन प्रहरी र सेनाले अश्रुग्यास प्रहार गरेको छ । टर्कीमा हाल झण्डै ३६ लाख शरणार्थीले आश्रय लिइरहेका छन् । उनीहरुमध्ये अधिकांश युरोप प्रवेश गर्ने योजनामा छन् । टर्कीका राष्ट्रपतिले यी आप्रवासीलाई युरोपले मानवीय सहायता नदिए आफूले सीमा खोलिदिने बताउँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार