निश्चल दाहाल
झापा / झापा जिल्ला कचनकवल गाउपालिका वार्ड नं २ बस्ने १४ वर्षकि बिष्णुमाया कार्किको शंकास्पद मृत्युभएको छ । सामान्य परिवारमा हुर्केकी बिष्णुमाया आमा गीता कार्की र पिता रोहित कार्की(हाल भारतमा कार्यरत ) कि माइली छोरी हुन । उनको आत्महत्या हो या हत्या त्यो बिषय भने संकास्पद रहेको छ , स्थानिय ब्यक्तीहरु, स्थानिय निकायका कर्मचारीहरु र प्रशासनका पदाधिकारीले यो घटनालाई संकास्पद रुपमा हेरेको बताएका छन् ।
लक्ष्मीप्रसाद देवकोटा माबीमा कक्षा ६ मा पढ्दै गरेकी निज कार्की यही फागुन ३ गते देखी हराएकी थीइन। सामान्य मजदुरी गर्ने सात सदस्य भएको परिवारकी उनलाई आमाले अन्तिम पटक शनिबार दिउसो मात्र भेटेकी थिइन। छिमेकी कल्पना गुरुङ्गको घरमा मल बोक्न (हाजिर गर्न) गएकी आमालाई केही बेर सघाएर सोही घरको बाथरुममा नुहाइ धुवाइ गरी बिष्णुमाया आफ्नो भित्री बस्त्र पनि त्यही सुकाउन छोडि हिंडेको उनकी आमा गीता कार्कीले जनसवालसँग बताईन । आमा गीता कार्किले छोरीलाई घर गएर खाना बनाउ भनी पठाएको बताईन । त्यसपछि बिष्णुमाया घर आएर भाईसँग खेल्न थालिन खेल्दा खेल्दै आफ्नो सानो भाईलाई कम्पासले हातमा घोचेको कारण आमाले घर आउदा केही हप्काइ दप्काइ गरेर एक दुई झापड पनि लगाएको स्थानिय बासीहरु बताउछन, तर आफुले छोरीलाई कुनै चोट हुने गरी हातपात नगरेको उनको आमाले बताईन । यो पिटाइ या गालीको कारण नै उनको मृत्यु भएको भन्न् खोजिएको भने हैन।
कचनकवल वडा नं २ मा पर्ने नयाँ बजार भनिने ठाउमा फुयाल सरकोमा पुराणमा गएर त्यहा राती उनी नाचेको देखेको पनि केही स्थानिय बासिले बताए । पूजाआजा आदिमा गईरहने छोरी त्यतै होलिन भनी ठानिरहेकी आमाले राती पनि छोरी नआएपछी चिन्तित भई आफ्नो ठुलि छोरीलाई बैनिलाई पनि लिएर आउनु भनी पुजा भएको घरमा पठाईन तर बैनी पुराणमा नभएको जानकारी पाए पछी परिवार चिन्तित हुन थाल्यो । निज कार्किको घर र नयाँ बजार जाने बाटोमा बाक्लो चिया बगान पर्छ र त्यो निकै नै सुनसान छ जस्ले यो घटनाको अबस्था संकास्पद देखाउछ । शनिवार बेलुकी देखी हराएकी छोरी बिष्णु खोजी गर्न यत्र तत्र घुमी फिरेकी आमा र गाउलेको हातमा केही फेला परेन ।

गाउ घरका अन्य ब्यक्तीहरु लागि पर्दा पनि सफलता हात परेन। सोमबार करिब ११ बजे दिउसो दाउरा खोज्न जाने क्रममा चिया बगान छिरेकी बिष्णुमायाकी हजुरआमा स्वयंले नातिनिको लास एक रुखको फेदमा डोरी बाधीएको र असहज तवरले सुतेझै भुइमा झुण्डिएको अवस्थामा भेटिन । उनको भित्री बस्त्रहरु मिर्त शरीर छेउमा नै रहेको थियो। बिष्णुमायाको लास भेटेपछी हजुरआमाले रुवाइ कराइ गर्दा गाउले भेला भएका थिए। लासको प्रकृति हेर्दा निकै नै शंकास्पद देखिएर स्थानिय बासी भयभित हुनको साथै कतै अर्को निर्मला हत्या काण्ड जस्तै झापामा पनि भएको भन्दै प्रहरिलाई खबर गरेका थिए ।
स्थानीयबासीहरुले सो कार्की परिवार साधारण परिवार भएको बताए । वडा सदस्य धन ब गुरुङ्गका अनुसार छोरी बिष्णुमाया र उनको आमाको सानो भाईलाई चोटलागेको निहुमा भएको सामान्य भनाभनमा बिष्णुमाया गाउतिर हिंडेको बताए । वडाध्यक्ष्य मेख ब भट्टराई यो निधन शंकास्पद रहेको र यस्को छानविनको लागि प्रशासनलाई सक्दो सहयोग गर्ने बताउछन् । स्थानिय ईलाका प्रहरिले यो घटना जिल्ला प्रहरी कार्यालयले हेरी रहेको बताए जिप्रका चन्द्रगढिका डिएसपी महेन्द्र कुमार श्रेष्ठसँग कुरा गर्दा यस्को गहिरो अनुसन्धान भईरहेको र चाडै यथार्थ बाहिर ल्याउने बताए । साथै डाक्टर सहितको टोली लिएर घटनास्थल आएको प्रहरिले पोस्टमर्टम गर्न बिष्णुमाया को शब धरान लगेको र अनुसन्धान जारी रहेको डिएसपी श्रेष्ठ ले बताए ।
स्थानिय स्तरमा यो घटनाले अहिले ठुलो त्रास उत्पन्न गरेको छ यसको गहिरो छानविन भई यथार्थ बाहिर निकाल्न गाउबासीहरुले अपिल गरेका छन अहिले पुरै गाउ भएभित रहेको छ ।
