प्रहरीले बम्जन आश्रममा गरेको व्यवहार अमानवीय : बोधी श्रवण धर्म सङ्घ, तपस्वी बम्जन उनले चाहे मात्रै भेटिन्छन् : प्रवक्ता लामा

सिन्धुली(जस)–प्रहरीले सिन्धुलीमा रहेको आश्रमस्थलमा गरेको व्यवहारप्रति बोधी श्रवण धर्म सङ्घले आपत्ति जनाएको छ । सङ्घले आइतबारको पत्रकार सम्मेलनमा प्रहरीले गरेको तोडफोड र अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो । यही माघ २४ गते बिहानै प्रहरीले हात हतियारसहित विनासूचना बोधी श्रवण धर्म सङ्घको आस्थाको केन्द्रमा महासम्बोधी धर्म सङ्घ गुरुको बासस्थान प्रवेश मूलद्वारको ताला तोडफोड गरेकामा आपत्ति रहेको सो अवसरमा वितरित बोधी श्रवण धर्म सङ्घका अध्यक्ष नीलबहादुर थिङ्गद्वारा हस्ताक्षरित मैत्रीय विज्ञप्तिमा उल्लेख गरिएको छ ।


शान्त तथा शालीन मैत्रीय वातावरण र धार्मिक आस्थामाथि छालाको जुत्तासहित प्रवेश गरी गोली पड्काउँदै आतङ्कित बनाई अमिलो र बिझाउने शब्दको प्रयोग भएकामा समेत सङ्घले आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा धर्म सङ्घले सरकारसमक्ष न्याय, न्यायोचित विधि, प्रक्रिया र व्यवहारमा सदा साथ दिने प्रतिबद्धता जनाउँदै विधि र प्रक्रियाबाट समस्याको समाधान गर्न सम्बन्धित सबैमा मैत्रीय आग्रह गरिएको छ । यसका साथै विज्ञप्तिमा बोधी मार्ग दर्शन मैत्री धर्ममा देश तथा विदेशमा रहेका सङ्घ भक्त, अनुयायी तथा शुभचिन्तकमा धर्मप्रति मैत्रीय व्यवहार र आचरणमा अविचल रहन र आवेग, उत्तेजनामा नआउन मैत्रीय ध्यानाकर्षण गराइएको छ ।

तपस्वी बम्जन उनले चाहे मात्रै भेटिन्छन् : प्रवक्ता लामा
लिटिल बुद्ध नामले चिनिएका रामबहादुर बम्जन सिन्धुली आश्रमबाट फरार भएको प्रहरीले बताएपनि उनका अनुयायीहरुले तपस्वी कतै नगई आश्रममै भएको बताएका छन् । बोधी–श्रवण धर्म संघका केन्द्रिय प्रबक्ता कमानसिंह लामाले गुरु (रामबहादुर बम्जन) सिन्धुली आश्रम छाडेर अन्यन्त्र नगएको बताए । ‘गुरु कहीं जानु भएको छैन, आश्रमभित्र कतै हुनुहुन्छ,’ उनले भने, ‘हामीले पनि चाहेर भेट्न सक्दैनौं, उनले चाहेको समयमा मात्रै भेट हुने हो ।’ उनले प्रहरीको अनुसन्धानमा सघाउन आफूहरू तयार रहेको पनि बताए ।
‘नेपाल सरकारले, वोधिमार्ग दर्शन मैत्री धर्मप्रति के को लागि अनावश्यक नाटक मञ्चन गर्दैछ ?’ लामाले प्रतिप्रश्न गरे –‘नेपाल सरकारले किन झुठो विवरण प्रचारप्रसार गर्दैछ ? सिन्धुली गुरु काझ्योक्पामा महाध्यानमा विराजमान गुरुलाइ फरार भनेर जनमानसमा किन झुठो ब्यहोरा प्रचार गरिदैछ ?’


लामाले चारकोसे झाडीको घनघोर जंगलमा, छ वर्ष सम्म अन्नपानीबिनाको कठोर र महान तपस्या गर्नु भइ प्राप्त गर्नु भएको ज्ञानलाई संसारभर फैलाएर जगतभरिको प्राणिहरु र वनस्पतिको रक्षार्थ सर्वजनमानसहरुमा चेतना, विवेक, शान्ति र मैत्रीत्वको भावनाद्वारा, एक जगत, एक प्राणी र एक धर्मको माध्यमले संसार भरी वन्धुवान्धवको भावना जगाइ यसधर्तिलाइ सत्ययुगमा परिणत गरेर स्वर्गभोगको अनुभुति गराउन , अहोरात्र मन वचन र कर्मले खटिरहनु भएको महान तपस्वी गुरुलाइ अनावश्यक कपोल कल्पित लाल्छना लगाएर नेपाल सरकारले आफ्नो दानवियरुपलाई विश्वसामु छर्लंङ्ग पारेको दाबी गरे । नेपाल सरकारले विगतमा जस्तै २०७६ माघ २६ गतेको दिन फेरि एउटा नयाँ र झुठो नाटक मञ्चन गरेर महान तपस्वी गुरुको क्षेत्रमा सयौको संख्यामा शस्त्र अस्त्रले सुसज्जित प्रहरीलाई तैनाथ गरेर निहत्था शान्तिप्रेमी तपस्वीका चेलाहरुलाइ अनावश्यक दुख दिदै, युद्धशिविरको स्मरण गराउने घोर आपत्तिजनक कार्य गरेको लामाले बताए ।
उनले विगतमा पनि सरकारले बम्जनमाथि अनावश्यक दुख दिने नियतले बलात्कार र मानिस बेपत्ता जस्तो आरोपलाई अगाडि बढाएर संघ भक्तहरुको नजरबाट समेत गिराउन धर्मविरोधी तत्वहरु लागिपरेको दाबी गरे । उनले यस्तो नचाहिने आरोपविरुद्ध सम्पुर्ण धर्मप्रेमी जनता तथा संघभक्तहरु एकजुट भएर लाखौंको संख्यामा उत्रिएर कडा प्रतिकार गर्नेसमेत बताए । लामाले गुरु सिन्धुली काझ्योक्पा नै रहेको बताउदै उनले विश्वमा नै नयाँ र नौलो मैत्रीलिपि र मैत्रीभाषाको प्रशिक्षण गराईरहेको दाबीसमेत गरे । प्रहरीले फरार भनेर संचारमाध्यमबाट प्रचार गरेकोमा उनले बिरोध गरे । लामाले संघहरुको नियमित भेटघाट भइरहेको र नियमित कार्य सुचारु भइनैरहेको बताउँदै अनावश्यक हल्लाको पछि नलाग्न पनि अनुरोध गरे ।