काठमाडौं(जस)–सरकारले चीनबाट ल्याइएका नेपाली नागरिकको स्वास्थ्य अवस्था निगरानी गर्नका लागि ६० जना स्वास्थ्यकर्मी खटाउने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । चीनको हुवाई प्रान्तको हुवान शहरबाट सुरु भएको नोबेल कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिन थालेपछि नेपालले आफ्ना नागरिकलाई स्वदेश फिर्ता गर्ने तयारी गरेको छ । स्वदेश फिर्ता गरेका नागरिकहरुलाई ६० जना स्वास्थ्यकर्मीहरुको निगरानीमा राख्ने र उनीहरुलाई तयारी अवस्थामा राख्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनीहरुलाई क्यारेन्टाइनमा राखेर निगरानी गरिने समेत मन्त्रालयले जनाएको छ । त्यसका लागि ६० जना स्वास्थ्यकर्मीलाई माघ २७ गते (सोमबार) अभिमुखिकरण तालिम दिने तयारी समेत गरिएको छ । ६० जना स्वास्थ्यकर्मीमा मेडिकल अफिसर, स्टाफ नर्स, स्वास्थ्य सहायक लगायत रहने समेत बताइएको छ ।
४ दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाका खरिपाटी, शिवपुरी, सूर्य्विनायक र इचङुनारायणमा चीनबाट ल्याइएकाहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी बढाउन निर्देशन दिएका थिए । ती स्थानमा स्थानीयवासीको विरोध चर्किन थालेपछि सरकारले कहाँ राख्ने भन्ने निर्णय गरिसकेको छैन । यद्यपि, भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रका २ वटा भवन खाली गरिसकिएको छ भने अन्य स्थानमा व्यवस्थापनको कामनै सुरु भएको छैन । उता, चीनमा अध्ययन गर्न गएका विद्यार्थीका आफन्तजनले आफ्नो परिवारका सदस्यहरुलाई तत्काल स्वदेश फिर्ता गर्न भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रियमानवअधिकार आयोग लगायतका सरोकारवाला निकायमा धाइरहेका छन् । उनीहरुले तत्काल आफन्तजनलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरिरहेका छन् ।
चीनबाट नेपालीलाई उद्धार गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले मित्रराष्ट्र चीनको हुवेई प्रान्तमा रहेका नेपालीको जीवन जोखिममा पर्नसक्ने भएकाले स्वदेश फर्काउन सरकारसँग आग्रह गरेको छ । आयोगमा आइतबार बसेको आकस्मिक बैठकले उक्त प्रान्तमा भएका नेपालीको संवेदनशीलतालाई बुझी सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको हो ।
बैठकले सरकारलाई आफ्ना नागरिकहरूलाई शीघ्र सुरक्षितरूपमा स्वदेश फर्कने वातावरण मिलाउन निर्देशन दिने निर्णय गरेको आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार उक्त प्रान्तका सबै नेपालीको स्वास्थ्य अवस्थाको जानकारी र स्वदेश फिर्ता गर्ने सम्बन्धमा सरकारका सम्बन्धित मन्त्रालयले गरेको काम कारवाहीका सन्दर्भमा आवश्यक जानकारी लिन परराष्ट्र, शिक्षा र स्वास्थ्यमन्त्रालयका सचिवहरूलाई आयोगमा बोलाउने निर्णय गरेको छ ।
चीनमा रहेका नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिक नोबेल कोरोना भाइरसका कारण आफू बसेको निवासबाट बाहिर निस्कन सक्ने अवस्था नभएको, लामो समयसम्म निवासमा बन्दीजस्तै जीवन बिताउँदा खाद्य सामग्रीको समेत अभाव भएको, जति लामो समय चीनमा रह्यो त्यति नै उनीहरू सङ्क्रमणको जोखिममा रहेको बताइएको छ ।
दुई हप्तादेखि चीनको सो प्रान्तमा रहेका करिब १८५ जना नेपाली विद्यार्थी तथा अन्य नेपाली नागरिकमा नोबेल कोरोना भाइरसको सङ्क्रमण हुने सन्त्रास भइरहेको र उनीहरूको शीघ्रजीवन रक्षा गरिदिन माग गर्दै अविभावकहरूले आयोगसमक्ष पेश गरिएको ज्ञापन–पत्र एवं नेपाली नागरिकको जीवन रक्षाका सम्बन्धमा आयोगले सो निर्णय गरेको हो ।