काठमाडौं(एजेन्सी)–भारतविरुद्धको एक दिवसिय क्रिकेट सिरिज घरेलु टोली न्युजिल्यान्डले एक खेल अगावै जितेको छ । शनिबार भएको खेलमा न्युजिल्यान्डले भारतलाई २२ रनले हरायो । यससँगै तीन खेलको सिरज न्युजिल्यान्डले २–० ले जितेको छ । जितको लागि दुई सय ७४ रनको विजयी लक्ष्य पछ्याएको भारत ४८.३ ओभरमा सवै विकेट गुमाएर दुई सय ५१ रनमा समेटिएको थियो । भारतका अलराउन्डर रविन्द्र जडेजाले ५५ रन बनाए । युवा ब्याट्सम्यान श्रेयर ऐरले ५२, नवदीप सैनीले ४५, पृथ्वी साले २४, शार्दुल ठाकुरले १८, विराट कोहलीले १५ र युजभेन्द्र चहल १० रन बनाए ।
न्युजिल्यान्डका हशिम बेनेट टिम साउदी, काइल ज्यामीसन र कोलिन डी ग्रान्डहोमले दुई दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धा्रित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ७३ रन बनाएको थियो । न्युजिल्यान्डका ओपनर मार्टिन गुप्टिलले ७९ रन बनाए । रस टेलरले ७३, हेनरी निकोलसले ४१, काइल ज्यामीसनले २५ र टम ब्लन्डेल २२ रन बनाए । भारतका युजभेन्द्र चहललेतीन विकेट लिए । शार्दुल ठाकुरले दुई तथा रविन्द्र जडेजाले एक विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्डले भारतलाई चार विकेटले हराएको थियो । तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ ।