माल्टा । गैरआवासीय नेपाली संघ (एनआरएनए)माल्टाको आयोजनामा पर्यटन प्रवर्धनका लागि खेलकुद कार्यक्रम सम्पन्न भएको छ । माल्टामा रहेका नेपालीबीच भाइचारा बढाउन र नेपाल भ्रमण वर्ष २०२०को प्रवर्धनका लागि खेलकुद कार्यक्रम आयोजना गरिएको एनआरएनए माल्टाले जनाएको छ ।
नेपाली समुदायबीच फुटबल, घैटोफोर र म्युजिकल चेयरलगायतका खेलकुद आयोजना गरिएको थियो । एनआरएनए माल्टाका अध्यक्ष बाबु अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि एनआरएनए आइसिसीका सल्लाहकार सोम सापकोटा थिए । कार्यक्रमका सञ्चालन एनआरएनए माल्टाका महासचिव सन्देश केसीले गरेका थिए । खेलकुद कार्यक्रमको संयोजन भने एनआरएनए माल्टाका युवा संयोजक रोशन गिरीले गरे ।
आइसिसी सल्लाहकार सापकोटाले खेलाडीलाई बल दिएर उद्घाटन गरेको कार्यक्रमलाई नेपाली राजदूतावासको तर्फबाट डा. दुर्गाबहादुर सुवेदीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । स्थानीय मेयर मार्केट सेफेरले पनि कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका एनआरउनएले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै सल्लाहकार सापकोटाले खेलको माध्यमबाट विदेशमा बस्ने नेपाली र नेपाल जोड्न सकिने बताए । उनले नेपालको पर्यटन प्रवर्धनमा यस्ता खालका कार्यक्रमले ठूलो भूमिका निर्वाह गर्ने दावी गरे । खेलकुद कार्यक्रम माल्टाको एमसिदा खेल मैदानमा भएको थियो । फुटबलका लागि ७ टोलीले सहभागिता जनाएकामा सम्फुसा फुटबल क्लब पहिलो र एभरेष्ट नेपाल फुटबल क्लब दोस्रो भए । विजेता र उपविजेतालाई मेडल र नगदसहित पुरस्कृत गरिएको थियो ।








