शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

छोटो समयमै हाप्किडो खेलले देखाएको आशा

आइतबार, माघ १९ २०७६

काठमाडौं(जस)–नेपालमा विधिवत रुपमा हाप्किडो खेल सुरु भएको केही समय मात्रै भएको छ । आत्मरक्षा र आक्रमणको रणनीति सिकाउँने यो खेलको विकास र विस्तार भने तीब्र गतिमा अगाडि बढिरहेको छ । त्यसको अनुभव यो साता पोखरामा भएको अन्तर्राष्ट्रिय सेमिनारले दिएको छ । अमेरिका र अस्ट्रियाका दुई ग्रान्ड मास्टरसहित स्पेन र इरानका दुई मास्टरले सञ्चालन गरेको सो सेमिनारमा देशभरबाट ६ सयभन्दा बढी खेलाडी दिक्षित भए ।
खेलाडी, स्थानीय विभिन्न संघ संस्था, सुरक्षाकर्मी र स्थानीयहरुको सहभागितामा विशाल ¥यालीसँगै पोखरा रंगशालामा सुरु भएको सेमिनार दुई दिनसम्म सञ्चालन भएको थियो । प्रशिक्षकको स्तरलाई आधार मान्दा कुनै पनि खेलको नेपालमा सञ्चालन भएको यो नै उच्च स्तरको सेमिनार रह्यो । दशकौदेखि खेलिदै आएको खेलले समेत नेपालमा यो स्तरका प्रशिक्षक झिकाएर सेमिनार वा प्रशिक्षण सञ्चालन गर्न सकेका छैनन् । नेपाल मार्शल आटर््स हाप्किडो संघ आफ्नो स्थापनाको छोटो समयमै दुई–दुई ग्रान्ड मास्टरसहित अन्तर्राष्ट्रिय मास्टर प्रशिक्षकहरुलाई झिकाएर सेमिनारको आयोजना गर्न सफल भएको छ । सरकारले नेपाल भ्रमण वर्ष मनाइरहेको समयमा आयोजित यो सेमिनार पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपूर्ण सावित हुने देखिएको छ ।
‘नेपालमा हाप्किडो खेल सुरु गरेदेखि नै हामीले यो खेलको विकास र विस्तारमा निक्कै मेहनत गर्दै आइरहेका छौं । नेपालमा हाप्किडो खेलको विकास र विस्तारमै सहयोग पुगोस् भन्ने उदेश्यले नै अन्तर्राष्ट्रिय सेमिनारको पनि आयोजना गरिएको हो’, नेपाल मार्शल आर्ट्स हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगर भन्छन्, ‘साथै सरकारले नै राष्ट्रिय अभियानको रुपमा सुरु गरेको नेपाल भ्रमण वर्ष २०२० लाई योगदान पुगोस् भन्ने उदेश्य पनि यो प्रतियोगिताको रहेको छ ।’
सेमिनार अमेरिकी ग्रान्ड मास्टर ही क्वान ली, अस्ट्रियाका ग्रास्ड मास्टर ग्रेहार्ड अग्रिन्ज तथा स्पेनका मास्टर सल्भाडोर क्याबालेरो र इरानका मास्टर जफर नभईले सञ्चालन गरेका थिए । खेलाडीहरुको सहभागिताबाट अन्तर्राष्ट्रिय ग्रान्ड मास्टर र मास्टरहरु उत्साहित देखिए । अमेरिकी ग्रान्ड मास्टर लीले हाप्किडोमा नेपालले चाडै ठूला अन्तर्राष्ट्रिय उपलब्धी हासिल गर्न सक्ने बताए । ‘नेपाल पहिलो पटक आएको हुँ । नेपाल निक्कै राम्रो लाग्यो । देश जति राम्रो लाग्यो, हाप्किडोप्रति यहाका खेलाडीहरुको उत्साह देखेर झनै खुसी लाग्यो’, ग्रान्ड मास्टर लीले भने, ‘हाप्किडो खेलले नेपालमा स्थानीय माझ यत्ति राम्रो सम्बन्ध बनाइसकको रहेछ । यसले थप खुसी लागेको छ । नेपालमा हाप्किडो खेलको विकासमा हाम्रो पनि साथ र सहयोग निरन्तर रहने नै छ ।’
अष्ट्रियन ग्रान्डमास्टर अग्रिन्जले पनि लीको भनाईमा सही थपे । ‘प्रशिक्षणकै उदेश्यले म धेरै देश पुगेको छु । म अहिलेसम्म पुगेकोे देशभन्दा नेपाल धेरै कुराले फरक पाएँ । छोटो समयमै हाप्किडो खेलले नेपालमा स्थानीयमाझ आफूलाई स्थापित गर्न सफल भएको देखेँ’, ग्रान्डमास्टर अग्रिन्जले भने, ‘नेपाल यो खेलका लागि उर्भर भूमी रहेछ । एक खेलाडी र प्रशिक्षकको हैसियतले नेपालमा यो खेलको विकासका लागि आवश्यक सहयोग गर्न सधै तयार रहेको कुरा राख्न चाहन्छु ।’
राष्ट्रिय खेलकुद परिषद्मा २०७३ सालमा राष्ट्रिय खेल संघको रुपमा दर्ता भएको हाप्किडोले आफ्नो स्थापनासँगै नेपालको ग्रामिण भेगलाई लक्षित गरी प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ । देशको प्रादेशिक संरचनाअनुसार आफ्नो संरचनालाई पनि विस्तार गर्न थालेको हाप्किडोले ४१ जिल्लामा आफूलाई विस्तार गर्न भ्याएको छ । त्यससँगै पाँच नम्बर प्रदेश र गण्डकी प्रदेशमा प्रादेशीक संघसमेत गठन गरिसकेको छ । संघले ती क्षेत्रमा राष्ट्रिय स्तरका ठूला प्रतियोगितासमेत आयोजना गरिसकेको छ । संघका अध्यक्ष घर्तिमगर आगामी ६ महिनाभित्र बाँकी सबै क्षेत्रमा हाप्किडोलाई विस्तार गर्ने बताउँछन् ।
‘नेपालमा खेलकुदको विकास गर्ने हो भने ग्रामिण क्षेत्रमा पुग्नु पर्छ । हामीले गाउँ–गाउँमा खेल एकता र मेल भन्ने नाराअनुसार आफ्नो गतिविधि अगाडि बढाइरहेका छौं’, अध्यक्ष घर्तिमगर भन्छन्, ‘बाँकी क्षेत्रमा पनि कमिटी गठनसँगै प्रतियोगिताको आयोजना गर्ने छौं ।’ अध्यक्ष घर्तिमगरकै नेतृत्वमा कमिटी गठन गरिसकिएका विभिन्न जिल्लामा हाप्किडोको आफ्नो छुट्टै प्रशिक्षण केन्द्र निर्माणको कामसमेत सुरु भइसकेका छन् । त्यसमध्ये कास्की, दाङ, रुपन्देही र नुवाकोटमा आफ्नै प्रशिक्षण केन्द्र निर्माण गर्ने कामसमेत अन्तिम चरणमा पुगिसकेको छ । अध्यक्ष घर्तिमगरका अनुसार यो वर्षभित्र पाँच नम्बर प्रदेश र बागमती प्रदेशमा दुई राष्ट्रिय प्रतियोगिता आयोजनाको तयारी भइरहेको छ । साथै, संघले दक्षिण एसियाली हाप्किडो च्याम्पियनसिप आयोजनाको तयारी पनि संघले गरिरहेको अध्यक्ष घर्तिमगरले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार