बेइजिङ । विश्वव्यापी बन्दै गइरहेको कोरोना भाइरसबाट चीनमा मृत्यु हुनेहरुको संख्या आइतबारसम्ममा ३ सय ४ पुगेको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार कोरोना भाइरसबाट प्रभावित हुनेहरुको संख्या भने १४ हजार ४ सय ११ पुगेको छ ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दैनिक रुपमा यस सम्वन्धी विवरणहरु सार्वजनिक गर्ने गरेको छ । आयोगले विरामी भएका मध्ये १७ सय ९५ जनाको अवस्था गम्भीर रहेको छ ।
विरामी भएका मध्ये कुल ३ सय ३० जनालाई उपचारपछि अस्पतालबाट फिर्ता गरिएको स्वास्थ्य आयोगले जनाएको छ ।
आयोगका अनुसार शनिबार मात्रै थप ४५ जनाको मृत्यु भएको छ ।
चीनको मध्य क्षेत्रमा पर्ने वुहान शहरमा सवैभन्दा पहिले देखिएको कोरोना भाइरसको संक्रमण अहिले संसारका दुई दर्जनभन्दा बढी देशहरुमा फैलिइसकेको छ ।
भाइरसको प्रकोप फैलिदै गएपछि विश्वस्वास्थ्य संगठनले आपतकालीन अवस्थाको घोषणा गरेको छ भने, विभिन्न देशले चीनसँगको नाकाबाट हुने आवतजावतलाई कडाई गरेका छन् । संसारका धेरै देशले आफ्नो सिमाना पार गरेर आउने हरेक व्यक्तिको स्वास्थ्य परिक्षण गर्ने गरेका छन् ।