काठमाडौं(जस)–ललितपुरको थ्रीस्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबविरुद्ध सानदार जित निकालेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले रेलिगेसनमा रहेको सरस्वती युथ क्लबलाई ४–० गोलले हरायो । थ्रीस्टारको जितमा सन्जोग राईले ह्याट्रिक गरे । जारी लिगमा सन्जोगको यो पहिलो ह्याट्रिक हो । अर्को गोल लाल रामवाले गरे । पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थ्रीस्टारले सबै गोल दोस्रो हाफमा गरेको थियो । भारतीय खेलाडी लाल रामवाले ४९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
सन्जोगले ५७औं, ६०औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । म्यान अफ दी म्याच भएका सन्जोगले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्री स्टार लिगको चौंथो स्थानमा उक्लिएको छ । थ्रीस्टारले १० खेलबाट १७ अंक बनाएको छ । समाना खेलबाट चार अंक बनौको सरस्वती अन्तिममा छ ।
मछिन्द्र लिगको शिर्ष स्थानमा उक्लियो
शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मछिन्द्र क्लबले विभागीय टिम एपिएफमाथि जित हासिल गरेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले एपिफलाई २–१ गोल अन्तरले पराजित गरेको हो । मछिन्द्रको जितमा रंजित धिमालले निर्णायक गोल गरेका थिए । १–१ को बराबरीको अवस्थामा रंजितले खेलको ७९औमिनेटमा निर्णायक गोल गर्दै मछिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् । यस अघि मछिन्द्रका लागि खेलको ४८औ मिनेटमा बिशाल राईले गोल गरे भने एपीएफका लागि खेलको ४३औ मिनेटमा रमेश दंगालले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच मछिन्द्रका देवेन्द्र तामाङ बनेका छन् ।
यो जितपछि मछिन्द्र लिगको शिर्ष स्थानमा उक्लिएको छ । १० खेलमा २२ अंकसहित मछिन्द्र शिर्ष स्थानमा उक्लिएको हो । उपाधि होडमा रहेको आर्मी ९ खेलमा २० अंकसहित दोस्रो स्थानमा छ भने मनाङ ९ खेलमा १९ अंकसहित तेस्रो स्थानमा रहेको छ । एपिएफ भने योसहित सातौ खेलमा हार बेहोरेदै केवल ५ अंकसहित १३औ स्थानमा रहेको छ । लिग अन्तर्गत आइतबार विभागीय टिम नेपाल आर्मी र नेपाल पुलिस क्लबबीच ३ बजे खेल हुदै छ भने त्यस अघि संकटा क्लब र हिमालयन शेर्पाबीच १२ बजे खेल हुदै छ ।