निसास्सिएर आठ भारतीय पर्यटकको दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु

हेटाँडा(जस)–मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ भारतीय पर्यटकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले सो रिसोर्टका कोठामा गए राति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जानकारी दिनुभयो ।

पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न आएका पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मृतक पर्यटकको सनाखत

मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ ।
रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका जानकारी दिनुभयो ।

नेपाल घुम्न आएका १५ पर्यटकमध्ये आठको मृत्यु भएको हो । उहाँहरु रिसोर्टको १०१ नम्बर कोठामा बास बस्नुभएको थियो । एउटै कोठामा आठ जना सुत्नुभएका ती पर्यटक आज बिहान बेहोस अवस्थामा फेला पर्नुभएको थियो । उहाँहरुलाई हेलिकप्टरबाट काठमाडौँको ह्याम्स् अस्पताल लगिएको थियो ।

पोखराबाट सोमबार साँझ उहाँहरु सो रिसोर्टमा बास बस्न आउनुभएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।