काठमाडौं । मध्यपूर्वको सम्पन्न राष्ट्रको रुपमा रहेको ओमानमा नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ । नेपाली राजदूतावास मस्कटले पुस २५ मा ओमानको ईम्ति भिलेजमा एक कार्यक्रम गरि नेपाल भ्रमण बर्ष २०२० को शुभारम्भ गरेको हो । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेसँगै ओमानस्थिन नेपाली दूतावासले विविध कार्यक्रम गरी यसलाई सफल बनाउने तयारी गरेको छ । ओमानको राजधानी मस्कट भन्दा करिब १२५ किमि टाढा रहेको ऐतिहासिक महत्वको गाउँमा कार्यक्रम आयोजना गर्नु आँफैमा एक सुनौलो अवसर भएकोले पनि यो कार्यक्रम अन्य भन्दा अलिक भिन्न रह्यो ।

ओमानी सभ्यताको पहिचान दिने यो प्राचीन बस्तीले कार्यक्रमका सहभागीहरूलाई ओमानको इतिहाससँग साक्षात्कार हुने मौका प्रदान गर्यो । करिब एक हजार जनाको बसोबास रहेको उक्त बस्तीमा कार्यक्रमले ओमानी जनतासँग नजिकको सम्बन्ध स्थापित गर्दै पर्यटन प्रर्वद्धनमा लक्षित समुहसँग नजिक हुने वातारणको सिर्जनासमेत गर्दछ । नेपाली संस्कृतिबमोजिम शुरू गरिएको उक्त कार्यक्रममा ओमानका लागि नेपाली राजदूत महामहिम सर्मिला पराजुली ढकालले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुहुँदै नेपाली पर्यटनका विविध आयामहरूबारे आफ्नो मन्तव्य दिनुभएको थियो । आफ्नो मन्तव्यमा महामहिम राजदूतले नेपाली कला, संस्कृति तथा प्राकृतिक सौन्दर्यको अलावा यसै वर्ष अथवा आगामी वर्षमा नेपाल किन घुम्ने भन्ने कुरामा विशेष जोड दिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि महामहिम शेख खलिफा अलि अल हार्थीले नेपाल आफूलाई धेरै मन पर्ने बताउँदै नेपाली दूतावासको निमन्त्रणा स्वीकार गरि महामहिम राजदूत र नेपाल सरकारले शुरू गरेको यस महत्वपूर्ण कार्यलाई साथ दिन तथा ओमानी पर्यटकहरूलाई नेपाल भ्रमणमा जान प्रेरित गर्न यस कार्यक्रममा आएको बताउनुभयो । साथै प्रमुख अतिथिले यहाँस्थित विभिन्न मुलुकका दूतावासहरूमध्ये पहिलो पटक मस्कट शहरभन्दा बाहिर पहिलो कार्यक्रम आयोजना गरेकोमा नेपाली दूतावासलाई धन्यावाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्नुभएकी पहिलो ओमानी महिला नदिरा अल हार्थीले आफूले नेपाल भ्रमण तथा सगरमाथा आरोहण गर्दाको रोमाञ्चकारी अनुभव सुनाउनु भयो । कार्यक्रममा नेपाली गीत गाउने पहिलो अरबिक गायक हाइथम मोहम्मद रफिले नेपाली कला संस्कृतिबारे आफ्नो भनाइ राख्दै एक नेपाली तथा एक अरबिक गीत गाउनुभएको थियो । कार्यक्रममा ओमानका लागि नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त संगीत तथा संस्कृतितर्फ अरबिक गायक हाइतथम मोहम्मद रफि, साहसिक पर्यटनतर्फ नादिरा अल(हार्थी र सामाजिक अभियन्ता तथा प्राज्ञिक व्यक्तित्व डा. चिथ्रा नारायणलाई महामहिम राजदूतदले नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको थियो ।

ओमानस्थित नेपाली समुदायको सक्रिय सहभागिता रहेको सो कार्यक्रममा विशिष्ट नेपाली खानाका परिकारहरू (सेलरोटी, मःम, ढिक्री, भक्का, दालको फुरौला, गुन्द्रुकको अचार, चुकाउनी लगायतका परिकारहरू) प्रत्यक्ष रूपमा कार्यक्रम स्थलमा नै तयार गरि अतिथिहरूलाई नौलो स्वादहहरू पस्किइएको थियो । ओमानमा बस्ने नेपाली दाजुभाईहरूले कार्यक्रममा पाल्नुभएका प्रमुख अतिथि लगायतका विशिष्ट पाहुनाहरूलाई विश्रामस्थलबाट कार्यक्रमस्थलसम्म विभिन्न परम्परागत नेपाली लोकबाजासहितको सांगीतिक प्रस्तुतिको साथमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव महामहिम शेख खलिफा अलि अल हार्थी प्रमुख अतिथिको रूपमा पाल्नुभएको थियो भने इज्की क्षेत्रका गभर्नर महामहिम शेख मोहम्मद विन अब्दुल्लाह अल बुसइदी, पर्यटन मन्त्रालयको अल दाखिलिया क्षेत्रको पर्यटन विभाग प्रमुख खलिल विन सइद अल टूवी, उक्त क्षेत्रबाट शुरा काउन्सिलका विभिन्न क्षेत्रका सदस्यहरू महामहिम जाहिर विन अली विन मराश अल आर्मी , महामहिम गुनिस विन अलि विन अजान अल( मान्धारी, महामहिम अहमद विन नासेर विन सलिम अलअब्री, महामहिम हाम्दान विन नासेर मौसुद अल( रूमइधी, महामहिम मोहम्मद विन हुमृद विन नासेर अल(शुईली, महामहिम मोहम्मद विन सुलेइमान विन तामिम अल(हिनाई, महामहिम अब्दुल्लाह विन सलिम विन मोहम्मद अल जुनैवी, महामहिम जमाल विन अहमद विन हमाद अल(अब्री, महामहिम सलिम विन हमाद विन सलिम अल(महरुकी, महामहिम अब्दुल्लाह विन हामूद विन सलिम अल न्दावी, महामहिम मोहम्मद विन खमिस विन नाभन अल(हुसइनी, महामहिम याकूब विन मोहम्मद विन अमुर अल राहवी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी ओमान चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत डा. अलफदल अल हिनाई, कलाकार तथा ओमान सोसाईटी फर फाइन आर्ट्सका निर्देशक मेडम मार्यम अल जड्जाली, विभिन्न देशका राजदूतहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, स्थानीय सरकारका कर्मचारीहरू तथा स्थानीय ईज्की क्षेत्रका सर्वसाधारणहरूको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापाले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा महामहिम राजदूतज्युको श्रीमान विमल ढकाललगायत दूतावासका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

