मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

बार्सिलोनाका प्रशिक्षक भाल्भर्डे बर्खास्त, नयाँ प्रशिक्षकमा सेटिन

मंगलबार, पुष २९ २०७६

काठमाडौं (एजेन्सी)– पाँच दिनअघि साउदी अरबमा भएको स्पेनिस सुपरकपको सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग पराजित भएपछि बार्सिलोनाको व्यवस्थापन पक्ष रुस्ट बनेको थियो । फुटबलमा हार खान नचाहन बार्सिलोनाले सुपरकपमा हारको मुख्य कारण प्रशिक्षक अर्नेस्टो भाल्भर्डेलाई ठानेको थियो । बार्सिलोनाका खेलाडी पनि भाल्भर्डेसँग त्यति खुसी देखिएनन् । सुपरकपमा खेपेको हारकै कारण बार्सिलोनाले सोमबार प्रशिक्षक भाल्भर्डेलाई बर्खास्त गरेको छ । बार्सिलोनाले भाल्भर्डेलाई बर्खास्त गर्नासाथ क्विक सेटिनलाई नयाँ प्रशिक्षक नियुक्त गरेको छ ।
सेटिन रियल बेटिसका पूर्व प्रशिक्षक हुन् । बार्सिलोनाले सेटिनलाई २०२२ को जुन सम्म अनुबन्ध गरेको विज्ञप्तीमा उल्लेख छ । बार्सिलोनाका ६१ वर्षीय नयाँ प्रशिक्षक सेटिनले आफू आक्रामक फुटबलमा केन्द्रित हुने बताएका छन् । उनी २०१७ देखि २०१९ मे सम्म बेटिसको प्रशिक्षक थिए ।
बार्सिलोनाले भल्भर्डेसँगको सम्झौता समाप्त भएको भन्दै उनले क्लबमा गरेको योगदान र सहयोगका लागि धन्यवाद दिएको छ । ५५ बर्षीय भाल्भर्डेले बार्सिलोनालाई दुई पटक स्पेनिस ला लिगाको उपाधि जिताएका थिए । उनी सन् २०१७ मा बार्सिलोनाको प्रशिक्षक बनेका थिए । बार्सिलोनाका पूर्व खेलाडी समेत रहेका भाल्भर्डेले सन् १९८८ देखि १९९० सम्म बार्सिलोनाबाटै फुटबल खेलेका थिए । यसपटक पनि बार्सिलोना लिगको शीर्ष स्थानमै छ । तर, बार्सिलोना गत सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभपुरसँग पराजित हुँदै बाहिरिएपछि भाल्भर्डेको दिनगन्ती त्यतिबेलै सुरु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार