आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

पोखरामा थप पर्यटकीय गतिविधि बढाउने योजनालाई प्राथमकिता दिन जोड

मंगलबार, पुष २९ २०७६

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले महानगरले सार्वजनिक हितलाई ख्याल गरेर नै सार्वजनिक निजी साझेदारी (पिपिपी) आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिकाले पिपिपीका लागि छनोट भएका आयोजनाको सम्बन्धमा आज यहाँ आयोजित छलफलमा उहाँले महानगरले ल्याएका आयोजनाले पोखराको सुन्दरतामा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री विश्वकर्माले कुनै पनि आयोजनालाई कार्यान्वयनमा लैजाँदा सार्वजनिक रुपमा छलफल गर्नुपर्ने औँल्याउनुभयो । उहाँले हरेक सम्भावनाको खोजी गर्दै पोखरामा थप पर्यटकीय गतिविधि बढाउने खालका योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

पिपिपी मोडलअन्तर्गत महानगरले सेती खोँच विकास आयोजनाका लागि रु एक अर्ब ५८ करोड रुपैयाँ लागतको योजना अघि सारेको छ । त्यस्तै पातलो छाँगो सिसा पुल तथा अन्य पूर्वाधार विकास आयोजनामा रु ४९ करोड १९ लाख र सराङकोट पर्यटन पूर्वाधार विकासमा रु १४ करोड ७४ लाख लागत अनुमानसहितको योजना प्रस्ताव गरेको छ ।

प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले सेती खोँचमा साहसिक पर्यटकीय पूर्वाधार निर्माणका लागि यहाँस्थित रामघाटलगायतका स्थानबाट नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले थोरै लगानी गरेर राम्रो आम्दानी गर्न सकिने धेरै ठाउँ भएकाले त्यसप्रति महानगरले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रदेशसभा सदस्य मनबहादुर गुरुङले रामघाटलाई तालका रुपमा विकास गर्न त्यसबारे अध्ययन गर्नुपर्नेमा जोड दिँदै योजनाको सफलताप्ूर्ण कार्यान्वयन महत्वपूर्ण भएको बताउनुभयो । अर्का प्रदेशसभा सदस्य विन्दुकुमार थापाले महानगरले ल्याएको योजनाले पोखराको पर्यटनमा थप टेवा पुग्ने बताउँदै सेती नदीमा पर्यटकीय पूर्वाधार निर्माण गर्दा नदीलाई प्रदूषित हुनबाट जोगाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रदेशसभा सदस्य रामजी बरालले आन्तरिक पूँजीलाई सही रुपमा परिचालन र व्यवस्थापन गर्नुपर्ने बताउँदै सेतीबाट नदीजन्य पदार्थ उत्खननलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य राजीव पहारीले तोकिएको मापदण्ड लागू गराउन र सार्वजनिक सम्पत्तिको संरक्षणमा कठोर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य मित्रकुमारी गुरुङ सुवेदी र पुष्पा केसी भण्डारीले महानगरले अगाडि सारेका योजनालाई सफल बनाउन तीनै तहका सरकारबीच समन्वयको खाँचो औँल्याउनुभयो । महानगर प्रमुख मानबहादुर जिसीले सार्वजनिक हितलाई ध्यानमा राखेर नै महानगरले तीन आयोजनालाई पिपिपी मोडलमा अगाडि बढाएको जानकारी दिनुभयो । विकास निर्माणमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय आवश्यक रहेको उहाँको भनाइ छ । कार्यक्रममा अनन्तप्रसाद कोइरालाले तीनवटा आयोजनाका बारेमा प्रस्तुति राख्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार