सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पूर्व श्रममन्त्रीहरुलाई वर्तमान श्रममन्त्री यादवद्वारा सम्मान, अनुभव सटासाट

बुधबार, पुष २३ २०७६

काठमाडौं, २३ पुस । निकै चुनौती पूर्ण रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी समाल्न आइपुगेका पाका नेता रामेश्वर राय यादवले मन्त्री बनेको एक महिना पछि पूर्व श्रम मन्त्रीहरुलाई बोलाएर सम्मान गर्दै अनुभव साटासाट गर्नु भएको छ । मन्त्री यादवले पूर्वमन्त्रीहरुसँग मन्त्रालयहरुको आगामी रणनीति र योजना बारे जानकारी दिदै अनुभव सटासाट गरेका छन् ।
मन्त्री यादवले हिजो (मंगलबार) मात्रै एक महिने कार्य प्रगति विवरण सार्वजनिक गर्नुका साथै आगामी तीन महिने योजना सार्वजनिक गरेका मन्त्री यादवले पूर्व मन्त्रीहरुको अनुभव र सुझावलाई लिएर आफू अघि बढ्ने बताए ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मन्त्री यादवले वैदेशिक रोजगारका क्षेत्रमा देखा परेका विकृति र विसंगति अन्त्यका लागि आफू प्रयासरत रहेको जानकारी दिए । उनले नेपाली कामदारको गन्तव्य रहेका देशमा सुरक्षित वातावरण बनाउने र यो सरकारको लक्ष्य देशमै रोजगारीको सृजना गर्ने रहेको उल्लेख गरे ।
मन्त्रीको यादवको यही सोच अनुसार आज (बुधबार) अपराह्न मन्त्रालयको सभाकक्षमा २०४६ साल यता बनेका १७ जना श्रम मन्त्रीहरुलाई निम्ता दिए । अनुभव साटासाट गर्ने, अहिले देखिएका समस्याहरुको विषयमा छलफल गर्ने र चुनौतीको पहिचान गर्दै आगामी दिनमा कसरी अगाडी बढ्न सकिन्छ भनेर निष्कर्ष निकाल्ने सोचका साथ मन्त्री यादवले बोलाएका बैठकमा जम्मा तीन जना श्रम मन्त्री उपस्थित भए ।
पूर्व श्रम मन्त्रीहरु मुकुन्द न्यौपाने, कमल चौलागाई र सरिता गिरी मात्र उपस्थित भए । तैपनि बैठकमा सहभमगी भएका पूर्वमन्त्रीहरुले आफ्नो अनुभव सुनाए ।
बैठमा पूर्व मन्त्री न्यौपानेले मन्त्रालयले काम गर्ने तौरतरिका र सोच्ने तरिकामा रुपान्तरण रहेको बताउँदै कुनै पनि काम गर्नुभन्दा पहिला विज्ञ र सरोकारवालाहरुसँग सरसल्लाह गरि अगाडी बढ्न सुझाव दिए ।
उनले पहिला उत्पादनको विकास र विस्तार नगरि रोजगारीको विस्तार नहुने भन्दै उत्पादकको विकासमा ध्यान दिन आग्रह गरे । त्यस्तै पूर्व मन्त्री न्यौपानेले योजना र तयारी बिना मन्त्रीहरुले सस्तो लोकप्रियताको निम्ति बोल्ने तर, त्यस अनुरुप काम गर्दा जनतामा वितृष्णा फैलिएको उल्लेख गर्दै सरकारले बनाएको कार्ययोजना प्रभावकारी ढंगले लागू गर्नुपर्ने कुरामा जोड दिए ।
त्यस्तै पूर्वमन्त्री गिरीले छिमेकी देश चिनले गरेको मानव सँसाधनको विकास र भौतिक विकासको सुक्ष्म अध्यन गरि त्यसअनुसार अगाडी बढ्न आग्रह गर्दै अन्य देशहरु विकसित हुँदा हाम्रो मुलुक किन विकास हुन सकेन भन्ने प्रश्नको गहन अध्यन गर्नुपर्ने बताइन् ।
त्यसैगरी अर्का पूर्वमन्त्री चौलागाईले अस्तव्यवस्त बनेको वैदेशिक रोजगारी क्षेत्रको गम्भीररुपमा अध्यन गरि कार्यक्रम अघि सार्नुपर्ने बताए । वैदेशिक रोजगारीका साथै आन्तरिक, कृषि, जल र पर्यटनका क्षेत्रमा पनि सरकारले ध्यान दिन उनले आग्रह गरे ।
पूर्व मन्त्रीहरुको अनुभाव र सुझाव पछि मन्त्री यादवले उहि अनुभव र सुझावका आधारमा मन्त्रालयले आगामी रणनीति तय गर्ने पनि बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार