आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

खाडीमा थप तनावको आशंका

शनिबार, पुष १९ २०७६

–मोहिनी मिश्र रिसाल
इराकको राजधानी बग्दादको अन्तरराष्ट्रिय विमानस्थलनजिकै शुक्रबार एकजना इरानी सैन्य कमाण्डर मारिएपछि यस विषयले खाडी क्षेत्रमा नै हलचल ल्याइदिएको छ । अमेरिकी सेनाको कारबाहीमा उनी मारिएपछि अमेरिका र इरानबीचको पछिल्लो तनाव झनै चर्किने देखिएको छ । शुक्रबार अमेरिकी सेनाको विशेष प्रकृतिको कारबाहीका क्रममा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख कमाण्डर कासिम सुलेमानी मारिएका थिए । यतिमात्र नभएर यसमा इराक पनि थपिएको छ र यसले अमेरिका र खाडी देशका बीचको तनाव थप बढेको विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमले इराकको राजधानी बगदादबाट जनाएका छन् ।अमेरिकी सेनाले शुक्रबार तिनै कमाण्डरलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो । त्यस आक्रमणको घटनामा परी सुलेमानीसहित छ जना व्यक्तिको पनि मृत्यु भएको थियो । मारिएका अरु व्यक्ति पनि सुरक्षाकर्मी नै रहेको अनुमान गरिएको छ तर पनि ती व्यक्तिबारे कुनै प्रष्ट जानकारी भने दिइएको छैन । उक्त घटनामा एकजना इराकी विद्रोही नेता पनि मारिएका भनी विभिन्न समाचारमा आएको छ तर यस विषयमा भने केही बताइएको छैन ।
मारिएका ती सुलेमानीलाई अमेरिकाले विगतदेखि नै ‘आतङ्ककारी’ समूहको नाइके भएको बताउँदै आएको थियो । यो आक्रमण अमेरिकाको तयारीमा नै भएको बताइएको छ । जुन कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले नै पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै उनको हत्याको निर्देशन दिएका बताइएको छ । आक्रमणका लागि उहाँको निर्देशन रहेको अमेरिकाले नै बताएको छ । ’अन्तरराष्ट्रिय सम्बन्धमा सैनिक बलको प्रयोगलाई निरन्तर विरोध गर्दै आएको’ चीनको विदेशमन्त्रालयका प्रवक्ता कङ सुवाङले सञ्चारकर्मीसँगको कुराकानीमा बताउनुभयो ।

अमेरिकासँग बदला लिने चेतावनी
यता इरानका सर्वाेच्च नेताले अमेरिकी आक्रमणमा आफ्नो सेनाको जनरल मारिएपछि यसको कडा बदला लिने चेतावनी दिनुभएको छ । इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले यस्तो प्रतिक्रिया दिनुभएको हो । शुक्रवार इराकको बग्दादमा इरानी फौजको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि उहाँले अमेरिकाका विरुद्धमा कडा रुपमा बदला लिने बताउनुभएको हो । उता इरानले उनी मारिएकोमा देशभरी नै तीन दिनसम्मका लागि राष्ट्रिय शोकको पनि घोषणा गरेको छ । त्यस्तै इरानी रक्षामन्त्री जावेद जारिफले शुक्रबार अमेरिकी सेनाले गराएको यो घटनालाई अन्तरराष्ट्रिय आतङ्कवाद भनी आरोप लगाउनुभएको बताइएको छ । अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले भने ती कमाण्डर सुलेमानीलाई अमेरिकी राष्ट्रपतिको आदेशमा गरिएको सुरक्षा कारबाही भनेर पुिष्ट पनि गरेको छ ।

को हुन् कासिम सुलेमानी ?
इरानले स्वदेशमा तथा विशेषगरी विदेशमा राष्ट्रियताको पक्षमा गतिविधि गर्न भन्दै इरान क्विड नामक विशेष दस्ताको स्थापना गरेको थियो । पछिल्लो समयमा उक्त दस्ताको नेतृत्व सुलेमानीको हातमा थियो । इरानको सरकारले सन् १९९८ देखि उक्त दस्ताको नेतृत्व सुलेमानीलाई सुम्पेको थियो । तर पनि उनलाई अमेरिकाले भने आतङ्कवादी व्यक्तिको सूचीमा राख्दै आएको छ ।उक्त दस्ताले इरानका लागि इरानबाहिरका देशहरुमा गोप्य गतिविधि सञ्चालन गर्ने गरेको छ । यसैकारण अमेरिकाले सो सूचीमा राखेको थियो । सुलेमानीले सन् १९८० पछि भएको इरान इराक युद्धसमेतमा लडेका थिए । उनलाई इरान सरकारको अति निकटका एक व्यक्तिका रुपमा पनि चिनिन्थ्यो ।सुलेमानीले सिरियामा कायम रहेको बसर अल असदको सत्ताका पक्षमा पनि काम गर्दै आएका थिए । साथै त्यहाँ भएको आइएसका विरुद्धमा पनि विशेष कारबाही गर्ने गर्दथे । उनले इरानी सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीसँग नै सम्पर्क राख्न सक्थे र उनको नेतृत्वमा रहेर काम गर्ने गर्दथे । शुक्रबार जनरल सुलेमानी आफ्नो कारमा सवार रहेका बेला अमेरिकी सेनाले सोही क्षेत्रमा गरेको हवाई आक्रमणमा परेर मारिएका हुन् ।इरानले यस कारबाहीलाई एक निकै नै खतरनाक काम भनेको छ भने अमेरिकी सञ्चारमाध्यमले भने उक्त कारबाहीको अमेरिकी पक्षबाट बचाउ गरेका छन् ।

अमेरिकी प्रतिक्रिया
ती कमाण्डर मारिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खासै कुनै प्रतिक्रिया दिनुभएको छैन । शुक्रबारको सो आक्रमणको घटनापछि उहाँले ट्वीट अकाउन्टमा अमेरिकाको झण्डा राख्नुभएको थियो तर घटनाका बारेमा केही लेख्नुभएको छैन । अमेरिकी रक्षा मन्त्रालयले भने शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले गरेको कारबाहीका क्रममा कासिम सुलेमानी मारिएको बताएको छ । यसलाई रक्षा मन्त्रालयले विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि गरिएको कारबाही पनि भनेको छ । उक्त विज्ञप्तिमा अमेरिकी रक्षा मन्त्रालयले अमेरिका आफ्ना नागरिक र आफ्ना चासोका विषयमा संसारभर रक्षात्मक रुपमा कामगर्ने र आगामी दिनमा पनि यस्ता कार्य गरिरहने छ भनेको छ । ]

संयमता अपनाउन आग्रह
उता शुक्रबार भएको यस सैन्य कारबाहीपछि उत्तेजकरुपमा व्यवहार नगर्न र संयमता अपनाउन विभिन्न देशले आग्रह गरिरहेका छन् । यस कारबाहीको चीन, रुस र सिरियाले यस हवाई आक्रमणको आलोचना गरेका छन् तर यूरोपेली सङ्घले भने थप हिंसा भड्किन नदिन सबै पक्षलाई संवेदनशिल भएर संयमता अपनाउन आग्रह गरेको छ । शुक्रबार अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुनेगरी शुक्रबार इराकमा गरेको आक्रमणलाई रूसले ‘गैरजिम्मेवारपूर्ण कदम’ भनेको छ ।
यसले मध्यपूर्वमा तनाव बढाएको रुसले जनाएको छ । रुसले इरानी ती कमाण्डरको मृत्युलाई लिएर इरानी जनताप्रति सहानुभूति पनि व्यक्त गरेको छ । बग्दादमा अमेरिकी आक्रमणबाट भएको सुलेमानीको मृत्युले मध्यपूर्वमा अहिले पनि जारी रहेको तनावलाई थप बढाउने रुसले आशङ्का गरेको छ । उता यूरोपेली परिषद्का प्रमुख चाल्र्स मिसेलले इराकमा अमेरिकाले इरानी जनरलको मृत्यु हुने गरी गरेको आक्रमणपछि थप द्वन्द्व चर्किने भन्दै शान्त रहन आग्रह गर्नुभएको छ ।
उहाँले इराकमा विगत केही हप्तादेखि भएका हिंसात्मक तथा उत्तेजनात्मक गतिविधिहरुलाई रोक्न र अबका दिनमा कुनै द्वन्द्वका घटना हुन नदिन आग्रह गर्नुभएको छ । त्यस्तै फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले सुलेमानीको मृत्युपछि हुनसक्ने सम्भावित हिंसा र राजनीतिक तनावलाई रोक्न सबैले पहल गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रसङ्घ भन्छ– अर्को खाडी युद्धको त्रास हटोस्
यसैबीच प्राप्त अर्काे एक समाचारअनुसार संयुक्त राष्ट्रसङ्घले इराकको राजधानी बग्दादमा भएको शुक्रबारको घटनाले खाडी क्षेत्रमा अर्को युद्धको अवस्था नल्याओस भनेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अमेरिकाले इराकको सो घटनाले खाडी क्षेत्रमा थप हिंसा भड्किनसक्ने भन्दै विश्वले फेरि अर्को खाडी युद्ध सहन सक्दैन भन्नुभएको छ । महासचिव गुटर्रेसले निरन्तर रुपमा खाडीमा भइरहेको तनावलाई कम गर्न संयुक्त राष्ट्रसङ्घले पनि निरन्तर पैरवी गरिरहेको बताउनुभएको छ । महासचिव गुटेर्रेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ “यो अवस्थामा विश्वका नेताले हिंसालाई रोक्न अत्यधिक प्रयास गर्नुपर्ने छ, विश्वले खाडी क्षेत्रमा फेरि अर्को युद्धको भार थेग्न सक्दैन ।”

प्रतिक्रिया
सम्बन्धित समाचार