काठमाडौँ(जस)–शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत बुधधबारदेखि शुरु भएको तेस्रो चरणको पहिलो खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएकोे खेलमा मछिन्द्र क्लबले फ्रेण्डस क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लिएको हो । जारी लिगमा मछिन्द्रले ६ अङ्क जोडेको छ । यसअघि मछिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराएको थियो भने च्यासल युथ क्लबसँग १–१ को बराबरीमा खेलेको थियो ।
मछिन्द्रको जितमा पिटर सेगुन, एडिलाजा सोमिडे र रेजिन सुब्बाले एक÷एक गोल गरे । खेलको २९औँ मिनेटमा पिटर सेगुनको गोलबाट मछिन्द्रले अग्रता लिएको थियो । रेजिन धिमालको क्रसलाई गोलकिपर देव लिम्बूले पञ्च गर्दै फर्काए पनि त्यही रिबाउन्डमा सेगुनले हेडमार्फत गोल गरेका थिए ।
त्यस्तै खेलको ५१औँ मिनेटमा एडेलाजाले गोल गरे । कप्तान विराज महर्जनको ब्याक पासमा उनले गोल गरेका थिए । त्यसैगरी खेलको ८५औँ मिनेटमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३–० को सहज जित दिए । पराजित फ्रेन्डसले भने अघिल्ला दुई खेलमा हार बेहोरेको थियो । खेलमा मछिन्द्रका विशाल राई म्यान अफ दि म्याच चुनिए ।
च्यासलमाथि एनआरटीको शानदार जीत
शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा एनआरटीले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ । एनआरटीको जितमा दर्शन गुरुङ र जुनियर निकेनगुले एक एक गोल गरेका थिए भने च्यासलका लागि एक गोल खेलको इन्जुरी समयमा अमिरले फर्काएका थिए । खेलको ७१औ मिनेटमा एनआरटीका जोर्डन ओवोनाले रातो कार्ड पाएर मैदान छोडेपछि एनआरटी १० खेलाडीमा सिमित भएको थियो ।
यो जितसँगै एनआरटीले तेस्रो खेलमा दोस्रो जित हासिल गरेको छ । लिगमा तीन खेलमा २ जितसहित ६ अंक हुनुपर्नेमा अघिल्लो सिजनको लिगमा अन्तिममा रहेकाले एनआरटीको यस सिजनमा दुई अंक घटाइने भएकाले एनआरटीको यो जितपछि ४ अंक भएको छ । त्यस्तै च्यासलले भने अहिलेसम्म खेलेका ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित कुल ४ अंक रहेको छ ।