काठमाडौं(जस)–अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीका सदस्य विमल घर्ती मगरसहित ४ खेलाडीको प्रतिबन्ध घटाएको छ । अपिल कमिटीमा खेलाडीले गरेको अपिलको सुनुवाई गर्दै मगंलबार बसेको बैठकले उनीहरुको कारबाही घटाएको हो । उनीहरुलाई पुरानै मिति अर्थात कार्तिक ३० बाट लागु हुने गरी कारबाही गरिएको एन्फाले जनाएको छ । तर जरिवाना रकम भने पुरानै कायम राखिएको छ । यस अघि अनुशासन उल्लघंन गरेको भन्दै एन्फाले गत मंसिर २७ गतेबाट लागु हुने गरि विमल घर्तिमगर, अन्जन विष्ट, दीनेश राजवंशी र सन्तोष तामाङलाई कारवाही गरेको थियो । विमल र दीनेशलाई एन्फाले ९० दिन तथा अन्जन र सन्तोषलाई ४५ दिन निलम्बन तथा सबैलाई ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
अब कात्तिक ३० गतेदेखि कारबाही लागू भएपछि अन्जन र सन्तोषले ए डिभिजन लिगका दुई खेल मात्र गुमाउनेछन् । अन्जन साविक विजेता मनाङ प्रमुख खेलाडी हुन् भने सन्तोष आर्मीका मिडफिल्डर हुन् । त्यस्तै विमल भने हाल माल्दिभ्सको लिगमा शीर्ष डिभिजन क्लब टीसी स्पोर्ट्सबाट खेलिरहेका कारण एन्फा अन्तर्गत प्रतियोगितामा मात्र कारबाही हुने भएको छ । तर अर्का खेलाडी दिनेशले भने प्रतिबन्ध फुकुवा हुन माघ ३० सम्म पर्खिनुपर्ने भएको छ । विमलसहितका यी ४ खेलाडीले मंसिर ३ गते कुवेतसँगको विश्व कप छनोट खेल्नका लागि भुटान जानुअघि अघिल्लो राती डिस्को गएर मादक पदार्थ सेवन गरेको भन्दै एन्फाले तुरुन्तै कारबाही स्वरूप भुटान जाने टिमबाट हटाएको थियो ।