काठमाडौँ(जस)–शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा भएको खेलमा मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । मनाङको जीतमा दयानन्द सिंहले निर्णायक गोल गरे । उनले खेलको मध्यान्तरपछिको अत्तिरिक्त समयमा रिबाउन्ड बललाई सदुपयोग गर्दै गोल गरेका थिए ।
जितसँगै मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङले दुई खेलमा शीर्ष ६ अङ्क जोडेको छ । यसअघि मनाङले आफ्नो पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई २–० गोल अन्तरले पराजित गरेको थियो । यता पराजित आर्मीको भने यो पहिलो हार हो । आर्मीले पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । खेलमा मनाङका गोल रक्षक दीप कार्की ‘म्यान अफ दी म्याच’ घोषित भए ।
पुलिस क्लबमाथि थ्रीस्टारको जित
लिग अन्तर्गत थ्री स्टार क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । सोमबार सम्पन्न खेलमा थ्रीस्टारले १–० गोल अन्तरले पुलिस क्लबलाई पराजित गरेको हो । थ्रीस्टारको जितमा सुशील राईले खेलको ८४औ मिनेटमा निर्णायक गोल गरेका हुन् । यो जितसँगै थ्रीस्टारले लिगमा पहिलो जित हासिल गरेको छ । यस अघि थ्रीस्टार जावलाखेल क्लबसँग बराबरीमा रोकिएको थियो । निर्णायक गोल गरेका सुशील राई खेलको प्लेयर अफ द म्याच समेत बनेका छन् ।