आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

पीपीएल : धनगढी एक्सपर्ट विजयी, पोखरा पल्टनलाई पाँच विकेटले पराजित

सोमबार, पुष ७ २०७६

काठमाडौँ(जस)–कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा मंगलबार भएको खेलमा धनगढी एक्सपर्ट विजयी भएको छ । धनगढीले पोखरा पल्टनलाई पाँच विकेटले पराजित गरेको हो । पोखरा रङ्गशालामा मंगलबार भएको खेलमा टस जितेर पोखरा पल्टनले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो ।
निर्धारित २० ओभरको खेलमा पोखराले १६ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर मात्र ७९ रन बनायो । धनगढीका अमित यादवले सर्वजित लद्दाको बलमा छक्का प्रहार गरी नौ दशमलव एक ओभरमा आफ्नो टोलीलाई विजयी बनाए । धनगढीका लागि दिपक पुनियाले २५, रोड्रिगो थोमसले १५, कप्तान दीपेन्द्रसिंह ऐरीले १३ तथा शुभेन्दु पाण्डेले ११ रन बनाए ।
बलिङतर्फ पोखराका प्रथमेश डाके र सर्वजित लद्दाले दुई÷दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा पोखराका लागि आशिफ शेखले ३२ तथा विनोद भण्डारीले १२ रन बनाए । बलिङतर्फ धनगढीका अनिल खरेलले तीन तथा दिपक पुनिया, कमलसिंह ऐरी र सागर ढकालले दुई÷दुई विकेट लिए । खेलको प्लेयर अफ दी म्याच धनगढीका दिपक पुनिया घोषित भए ।
प्रतियोतिामा बुधबार बुटवल र विराटनगरबीच लिग चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार तय गरिएको छ । दश दिनअघि शुरु भएको पोखरा प्रिमियर लिगको उपाधि विजेता टालीले रु २७ लाख पुरस्कार हात पार्नेछन् । उपविजेताले रु १० लाख प्राप्त गर्नेछन् । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ । प्रतियोगितमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट खेलिरहेका छन् । प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । यस्तै मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदियमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार