शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मेनपावर व्यवसायीले भ्रमण वर्ष सफल बनाउन सघाउने, विदेशिने श्रमिकलाई टिसर्ट वा क्याप अनिवार्य

सोमबार, पुष ७ २०७६

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन सहयोगी भूमिका खेल्न व्यवसायीहरुलाई अपिल गरेको छ । ईजाजतपत्रवाला व्यवसायीले विदेशमा रोजगारदाता कम्पनी लगायत अन्य प्रयोजनका लागि गर्ने ईमेलमा भ्रमण वर्ष २०२० को लोगो अनिवार्य प्रयोग गर्न व्यवसायीलाई आग्रह गरिएको संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए । नेपाल सरकारले बार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । भ्रमण वर्ष २०२० प्रवद्र्धन गर्दै सफलताका साथ सु–सम्पन्न गर्नको लागि संघले सरकारसंग सहकार्य गर्ने सहमती यस अघि नै गरिसकेको छ ।
संघमा आवद्ध सदस्य संस्थाबाट रोजगारीमा जाने कामदारहरुलाई अनिवार्य रुपमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अंकित टिसर्ट वा क्याप उपलव्ध गराई रोजगारीमा जाँदा टिसर्ट वा क्याप लगाउने व्यवस्था गर्न संघले अनुरोध गरेको श्रेष्ठले बताए । ईजाजतपत्रवाला वैदेशिक रोजगार व्यवसायीहरुले आ–आफ्नो कार्यालयमा भ्रमण बर्ष २०२० को लागो राख्ने साथै कम्पनीको कार्यालयमा प्रयोग गरिने लेटरप्याड, भिजिटिङ कार्ड लगायतका अफिसियल सामाग्रीमा नेपाल भ्रमण वर्षको लोगो राख्ने व्यवस्था गर्न आग्रह गरिएको संघका महासचिव श्रेष्ठले जानकारी दिए ।
नेपाल आउने विदेशी रोजगारदाता कम्पनीका प्रतिनिधिलाई नेपाल भ्रमण वर्षको उट्घाटन कार्यक्रममा सहभागी गराउने तयारी गरिएको उनले बताए । त्यस्तै गरि भ्रम वर्षकै अवसरमा कोलम्बो प्रोसेसको नेपालले अध्यक्षता गरिरहेको बेला श्रमिक पठाउने देशहरुका मेनपावर कम्पनीहरुलाई समेटेर एकीकृत रुपमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिएको श्रेष्ठले बताए । सम्मेलनले श्रमिक पठाउने देशको आवाज एउटै बनाई श्रमिकका लागि अधिकतम फाइदा हुने गरि निचोड निकाल्न सहयोग हुने साथै भ्रमण वर्षलाई पनि सफल बनाउन प्रचारमा सहयोगी हुने विश्वास लिइएको उनले बताए ।
२०२० जनवरी १ को दिन दशरथ रंगशालामा हुने भ्रमण वर्षको उदघाटन समारोहमा संघको तर्फबाट १०० जनाको मार्च पास गर्ने कार्यक्रम राखेको संघले जनाएको छ । साथै उक्त मार्च पासमा सहभागी हुन चाहने संस्थाले यस संघमा यथाशिघ्र नामावली टिपाउन संघले आग्रह गरेको छ । उक्त उद्घाटन कार्यक्रम हेर्न चाहने ईच्छुक व्यवसायीहरुले संघबाट निशुल्क टिकट लिनु पनि आग्रह संघले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार