काठमाडौँ । १३ औं संस्करणको काठमाडौं म्याराथनको महिलातर्फको उपाधि विभागीय नेपाल एपीएफ क्लबकी कान्छीमाया कोजुले जितेकी छिन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार भएको म्याराथनमा कान्छीले निर्धारित दुरी २ घन्टा ५७ मिनेट २७ सेकेन्डमा पुरा गर्दै उपाधि जितेकी हुन् ।
यससँगै कान्छीमायाले काठमाडौं म्याराथनमा लगातार तेस्रो वर्ष उपाधि जित्दै ह्याट्रिक पुरा गरेकी छिन् । समग्रमा भने कान्छीमायाको पाँचौ उपाधि हो ।
पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबका नरेन्द्र रावलले जितेका छन् ।
नरेन्द्रले निर्धारित दुरी २ घन्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् ।
यस्तै हाफ म्याराथनमा त्रिभुवन आर्मीका राजन रोक्का र पुर्ण लक्ष्मी न्यौपाने स्वर्ण पदक हात पारेका छन् ।
पुरुष तर्फ हाफ म्याराथनमा आर्मीका राजनले निर्धारित दुरी एक घण्टा १० मिनेट २६ सेकेण्डमा पुरा गरेका हुन् भने महिला तर्फ पुर्ण लक्ष्मीले एक घण्टा २८ मिनेट सुन्य तीन सेकेण्डमा निर्धारित दुरी पुरा गरिन् ।
पाँच किलोमिटरतर्फ पुरुषमा अजितकुमार यादव पहिलो भए । उनले निर्धारीत दुरी १७ मिनेट १९ दशमलव नौ एक सेकेण्डमा पुरा गरे ।
महिला तर्फ आर्मीकी सरस्वती भट्टराई पहिलो भइन । उनले २२ मिनेट ३ दशमलव चार एक सेकेण्डमा दुरी पुरा गरिन ।