आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

आज कतारले राष्ट्रिय दिवस भव्य रुपमा मनाउँदै, नेपालीलगायत विश्व समुदायको उपस्थिति रहने

एनआरएनए कतारद्धारा राष्ट्रिय दिवसमा सहभागी हुन आग्रह

बुधबार, पुष २ २०७६

दोहा(जस)– कतारले आज आफ्नो राष्ट्रिय दिवस मनाउँदै छ । कतारले यस वर्षको राष्ट्रिय दिवस विभिन्न कार्यक्रमका साथ अहिलेसम्मकै भव्य रुपमा मनाउँदैछ । जसअनुसार हरेक वर्ष जस्तै कतारले कर्नेसनमा राष्ट्रिय दिवसको अवसर पारेर एयर आर्मी र्फोस, आन्तरिक मन्त्रालय, लखुइया, नागरिक रक्षा विभागका साथै सरकारी निकायको परेड देखाउनेछन् । त्यस्तै, सैन्य तथा युद्ध विमानहरूको प्रदर्शन पनि हुनेछ । कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ को सम्झनामा हरेक वर्ष राष्ट्रिय दिवस मनाउँदै आएको छ । त्यतिखेरका अमिर शेख जसिम बिन मोहम्मद बिन अल थानीले विभाजित समुदायलाई एकतामा बाँधेर कतारको जग बसाएका थिए ।


कतारमा गत ९ डिसेम्बरदेखि १० दिनसम्म राष्ट्रिय दिवस मनाइँदै छ । आज अन्तिम दिन कतारी जनता र कतारमा रहेका अन्य देशका नागरिकहरुले ठूलो समूहमा जम्मा भएर सैन्य परेडको अवलोकन गर्दै छन् । कतारले राष्ट्रिय दिवसलाई एकता, वफादारी र गौरवको प्रतीकका रूपमा मनाउँदै आएको छ । कतारले सन् २००८ देखि राष्ट्रिय दिवस मनाउन सुरु गरेको हो । कतारले देशको संस्थापक शेख जस्सिम बिन मोहम्मद बिन थानीको स्मरण गर्दै हरेक वर्ष डिसेम्बर १८ तारिकका दिन राष्ट्रिय दिवस मनाउने गर्दछ । सन् १८७८ को यसै दिन उनले आफ्नो पिता शेख मोहम्मद बिन थानीको देहान्त पछि राजगद्दी सम्हालेका थिए । उनकै पालामा कतार एक स्वतन्त्र मुलुक बनेको थियो । संस्कृित तथा खेलकुद मन्त्रालयले यो वर्षको नेशनल डे को नारा ‘अल माली केदाह’ सार्वजनिक गरेको छ । जसले साधारणमा सत्यको बाटो गार्हो हुन्छ भन्ने बुझाउँछ ।


कतारका संस्थापक शेख जस्सिम बिन मोहम्मदले आफ्नो छोरा शेख अलि बिन जस्सिम (जोआन ) को बर्णन गर्दै लेखेको कविताबाट यो वर्षको नारा प्रेरित भएको हो । कविता त्यो समयमा कतारी युवापुस्ताको पनि प्रतिनिधित्व गर्दै लेखिएको थियो । शेख जस्सिम सेना प्रमुख, बिद्धान, निर्णायक, योद्धा र कवि पनि थिए ।
उनले यूरोप, भारत, अफ्रिकालगायतका राष्ट्रसँग सम्बन्ध विस्तार गरि पर्लको व्यापारसमेत बढाएका थिए । जसले गर्दा धेरै कतारी जनताले आफ्नो जीवनस्तर सुधार गरे । यस दिन कतारमा सार्वजनिक बिदा हुने गर्दछ । देशको प्रायजसो सरकारी तथा निजी कार्यक्षेत्र यस दिन बन्द हुन्छ । यद्यपि अत्यावश्यक स्थान जस्तै अस्पताल, सुरक्षागार्ड, विमानस्थल, होटेललगायत केही कार्यक्षेत्रमा भने बिदा हुँदैन । बिदा नदिईने क्षेत्रमा ओभरटाइम दिएर मात्र काम लगाउनु पर्ने श्रम कानुनमा उल्लेख छ ।


देशभर विभिन्न कार्यक्रम आयोजना गरि यस दिन भब्यताका साथ सम्पन्न गरिनेछ । यसै दिन देशको झन्डालगायत अन्य राष्ट्रिय भाव झल्किने गरि गाडी सजाउने, कर्नेशमा सैनिक परेड, आतसबाजीलगायत हवाई शो पनि गरिन्छ । सन् २००७ को जुन अघि कतारले सेप्टेम्बर ३ मा आफ्नो राष्ट्रिय दिवस मनाउने गर्दथ्यो । सेप्टेम्बर ३,१९७१ मा कतारले बेलायत बाट स्वतन्त्रता पाएको थियो । कतार आर्मी, आईएसएफ, आन्तरिक मन्त्रालय, अमिरी गार्डले कर्नेशमा सामूहिक सार्वजनिक परेड गर्ने गर्दछ । यस्तै दोहा कर्नेश, दर्ब अल साइ, कतारा, एस्पायर जोनलगायत अन्य स्थानमा आतशबाजी, कार शो लगायत अन्य कार्यक्रम हुनेछन् ।


कतार अहिले विश्वको सबैभन्दा धेरै प्रतिव्यक्ति आय भएको देश हो । आफ्नै स्रोत र साधनको प्रयोग गरी छोटो समयमा नै उल्लेख्य सफलता हासिल गरेको मुलुकको रूपमा कतारलाई लिइन्छ । विश्वका धेरै मुलुकहरू प्राकृतिक स्रोतसाधन सम्पन्न हुन्छन् । तर, कतार तीमध्ये आफ्नो सम्पत्तिको उपयोग राम्रोसँग गर्दै विश्वको धनी राष्ट्र बन्न सफल भएको छ ।
राष्ट्रिय दिवसलाई भव्यरुपमा मनाउनका लागि सनैयाको एसियाना टाउन, रैयान स्पोर्टस क्लव, अल वर्का स्पोर्टस क्लव र बारवा लेबर रिक्रियसन कम्प्लेक्स अलखोरमा बिबिध कार्यक्रमको लागि स्थान तोकिएको छ । जहाँ नेपाली, भारतीय, पाकिस्तानी, श्रींलंकन, बंगालदेशीलगाएत विभिन्न समुदायको साँस्कृतिक तथा सांगीतिक कार्यक्रम हुनेछ । राष्ट्रिय परेड प्रतियोगिता, कम्पनी र समुदायवीचको साँस्कृतिक प्रस्तुति र विभिन्न समुदायको विविध साँस्कृतिक कार्यक्रम र खेलकुद प्रतियोगितासमेत आयोजना हुनेछन ।


कतारमा रहेका आप्रवासीहरुलाई मध्यनजर गर्दै राष्ट्रिय दिवसको उत्सवका लागि स्थान तोकिएको हो । विभिन्न समुदाय, स्कुल, कम्पनी र साँस्कृतिक समूहका प्रस्तुति तथा खेलकुद प्रतियोगिता हुनेछन् । राष्ट्रिय दिवसको अवसरमा कतारको रमणीय स्थान कर्नेसनमा विहान राष्ट्रिय दिवसको औपचारिक कार्यक्रम हुनेछ ।

नौ नेपाली कैदी बन्दीाई कतार सरकारद्वारा आममाफी
कतारको राष्ट्रिय दिवसका अवसरमा कतारस्थित कारागारमा बन्दी जीवन बिताइरहेका ९ नेपाली कैदी बन्दीहरुलाई कतार सरकारद्वारा अघिल्लो वर्ष आममाफीसहित रिहाइ गरिएको थियो । नेपाली राजदूतावास दोहा, कतारले दिएको जानकारी अनुसार यो वर्ष पनि नेपाली कैदी बन्दी रिहाई हुन सक्ने छन् । तर, अहिलेसम्म कति बन्दी रिहाई हुने भन्ने जानकारी प्राप्त भइसकेको छैन् ।


एनआरएनए कतारद्धारा राष्ट्रिय दिवसमा सहभागी हुन आग्रह
कतार । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसिसी कतारले आज कतारको राष्ट्रिय दिवसका अवसरमा कतारमा आयोजना हुने कार्यक्रममा सहभागी हन आग्रह गरेको छ । एनसीसी कतारले एनआरएएका आईसीसीका पदाधिकारी तथा सदस्य, एनसीसी कतारका पदाधिकारी एवं कार्यसमिति सदस्य, सल्लाहकार संयोजक एवं सल्लाहकार, पुर्व अध्यक्ष तथा पुर्व पदाधिकारीहरु, उपसमिति सदस्य तथा कतारमा स्थापित नेपाली संघसंस्थाका प्रमुखहरु, सम्पूर्ण पञ्जिकृत सदस्यहरुलाई सहभागिताका लागि अनुरोध गरेको हो ।
‘हाम्रो कर्मभूमि एवं मित्रराष्ट्र कतारको राष्ट्रिय दिवस डिसेम्बर १८ का दिन विगत बर्ष जस्तै यस बर्ष पनि कतार सरकारले आफ्नो राष्ट्रिय दिवस समारोहमा नेपाली लगायतका आप्रवासी समुदायहरुलाई सहभागिता गराउँदै छ’, एनसिसी कतारले उल्लेख गरेको छ । राष्ट्रिय दिवसको अवसर पारेर कतारले नेपाली समुदायको तर्फबाट पनि विशेष कार्यक्रमहरु राखेको संघले जानकारी दिएको छ ।

‘१८ डिसेम्बर, बुधबारका दिन कतारका विभिन्न स्थानहरु अलखोर, साहानिया, एसियन टाउन, लेबर सिटि, एक्वा पार्क र बारुवा अल बारा गरि विभिन्न ६ स्थानमा स्थानिय नेपाली कलाकारहरुको सांगितिक प्रस्तुति रहने छ भने एसियन टाउनको क्रिकेट स्टेडियममा परेड कार्यक्रम रहेको जानकारी गराउदछौ । कतारको राष्ट्रिय दिवसको अवसरमा बिभिन्न समुदायहरु मार्फत गरिने परेड अन्तर्गत नेपाली समुदायको परेडमा नेपालको संस्कृती झल्कने पोसाक वा सकेसम्म राष्ट्रिय पोसाकमा दिनको २ बजे परेड समारोहमा सहभागिता जनाइदिनुहुन सबैमा एनसीसी कतारको अनुरोध छ’, अध्यक्ष मोहम्मद मुक्त्तदाले अनुरोध गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार