शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई मृत्युदण्डको फैसला

मंगलबार, पुष १ २०७६

इस्लामावाद । पाकिस्तानको एउटा विशेष अदालतले पूर्वसैन्य शासक परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको छ । पेशावर उच्च अदातलका मुख्य न्यायाधीश पनि भएको तीनसदस्यीय इजलासले मङ्गलवार मुशर्रफलाई संविधानको अवहेलना तथा गम्भीर देशद्रोहको मुद्दामा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाएको हो ।

उनलाई सन् २००७ नोभेम्बर ३ मा सङ्कटकाल घोषणा गरेकोमा देशद्रोहको मुद्दा लगाइएको हो । यो मुद्दा सन् २०१३ देखि विचाराधीन थियो । पाकिस्तानी सञ्चारमाध्यमले यो आदेशलाई पाकिस्तानको इतिहासमै पहिलो भनेको छ ।

सन् १९९९ मा रक्तहीन सत्तापलट गरेर सेनाप्रमुख परवेज मुशर्रफले नवाज शरिफबाट सत्ता आफ्नो हातमा लिएका थिए । उच्च अदालतका प्रधानन्यायाधीश वकार अहमदको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले मङ्गलवार लामो समयदेखि चलेको देशद्रोहको मुद्दामा पूर्वसैनिक शासकलाई मृत्युदण्डको सजाय सुनाएको हो ।

मुद्दाको सुनुवाइ हुँदाहुँदै मुशर्रफ सन् २०१६ मार्चदेखि यूएईको दुबईमा गएका थिए । उनको अहिले त्यहाँ उपचार भइरहेको छ ।

केही दिनअघि उनले एउटा भिडियो सन्देश पठाएर आफ्नो स्वास्थ्य बिग्रिएको भन्दै मुद्दा हेरिरहेको निकायलाई आफ्नो स्थिति हेर्न आउन आग्रह गरेका थिए । द न्यूजका अनुसार मुशर्रफलाई पाकिस्तानको संविधानको धारा ६ अनुसार दोषी ठहर गरिएको हो ।

तीनमध्ये दुई न्यायाधीश मृत्युदण्डको पक्षमा रहेका थिए । सो इजलासमा वकार, सिन्ध उच्च अदालतका न्यायाधीश नजर अकबर र लाहोर उच्च अदालतका न्यायाधीश शाहिद करिम रहेका थिए । यो आदेशको पूर्णपाठ ३८ घण्टामा जारी गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार