मेलम्ची(जस)– सिन्धुपाल्चोकदेखि दोलखाको कालिञ्चोक तीर्थ यात्रा गएर फर्केको बस दुर्घटनामा मृत्यु भएका १५ मध्ये हालसम्म १४ यात्रुको सनाखत भएको छ । दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका–९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड गाउँपालिका–४ प्रीतिका २४ वर्षीय महेश तामाङ, रामेछाप सुनापाटी–६ की ४२ वर्षीया जुना तामाङ, काभ्रे बेथानचोक–५ का ३५ वर्षीय रामशरण खत्री र उनकी श्रीमती ३५ वर्षीया मैयाँ, सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका–४ की ५५ वर्षीया गङ्गामाया तामाङ, जुगल गाउँपालिका–७ याङ्लकोटकी सात वर्षीया सबिना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २८ वर्षीय सुकबहादुर तामाङ, बलेफी गाउँपालिका–५ चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र भक्तपुर, सूर्य्विनायक–८ की ३२ वर्षीया चिनु बस्नेतको सनाखत भएको छ ।
बाँकी एक २४ वर्षीयाको भने केएमसी सिनामङ्गलमा उपचार हुँदाहुँदै मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । घटनामा १६ जना घाइते भएका छन् । सुनकोशी गाउँपालिका– ७ लामोसाँघु जिरी सडक खण्डको छ किलोमा करीब १०० मिटर तल ब्रेक फेल भएर सो वा ४ ख ४४६८ को रिजर्भ बस दुर्घटनामा परेको थियो । भक्तपुरबाट शनिबार रिजर्भमा गएको सो बसमा चालकसहित ३२ यात्रु रहेकामा चालक भने फरार रहेको काफ्लेले बताए ।
अन्य घाइतेको पनि चिकित्सकको ठूलो टोलीले उपचार गरिरहेको भण्डारीले जानकारी दिए । कालिञ्चोक तीर्थ यात्रा गरी भक्तपुर जाँदै गरेको बस आइतबार बिहान साढे ७ः०० बजे लामोसाँघु जिरी सडकखण्डको छ किलो नजिकै सडकबाट ७० मिटर तल खसेर दुर्घटना भएको थियो । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको बसका चालक भने हाम फालेर भागेको प्रत्यक्षदर्शी जानकारी दिएका छन् ।
लामोसाँघु जिरी सडकखण्डको छ किलोको घुम्तीबाट तल बस खसेको सुनकोशी गाउँपालिका–६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए । घाइते दीपक तामाङका अनुसार बसको सीट भर यात्रु थिएनन् । ब्रेक फेल भएर दुर्घटना भएको घाइते तामाङले जानकारी दिए । यस अघि गत असोजमा सिन्धुपाल्चोकको सिपाघाटबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाति गाउँपालिका–१० बडहरे झिल्के मोडमा दुर्घटना हुँदा ११ को मृत्यु र ४० भन्दा बढी घाइते भएका थिए । साथै पछिल्लो पटक कात्तिकमा दोलखाको मागादेउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको बस सुनकोशी नदीमा खस्दा १७ को मृत्यु भएको थियो ।