काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक केन्द्रिय कार्यालय धुम्बाराहीमा आजदेखि सुरु भएको छ । एक वर्षपछि बसेको स्थायी समिति बैठकको अध्यक्षता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् ।
आइतबारको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपि शर्मा ओली उपस्थिति भएनन् ।
यसअघि आइतबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय वैठकले स्थायी समिति बैठकमा छलफल गर्नका लागि ५ बुँदे एजेण्डा तय गरेको थियो । स्वास्थ्य स्थितिको कारण देखाउँदै अर्का अध्यक्ष ओली बैठकमा उपस्थित नभएको बताइएको छ । बैठकमा ओलीको लागि कुर्ची भने खाली राखिएको थियो ।
बैठकमा ४५ सदस्यीय नेकपाको स्थायी समितिका अधिकांश सदस्य सहभागी भएका छन् ।
प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल
बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । अध्यक्षद्वयको तर्फबाट प्रचण्डले प्रस्तुत गरेको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा राष्ट्रिय तथा अन्टराष्ट्रिय परिस्थिति, पार्टी एकता, सरकारको समीक्षा, उपचुनावको समीक्षा र आगामी कार्ययोजनाबारे उल्लेख भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
आइतबारको वैठकमा पार्टी महासचिव विष्णु पौडेलले विद्यान संशोधनको प्रस्ताव राखेका थिए ।
बैठक ढिलो बसेकोमा प्रचण्डले गरे आत्माआलोचना
स्थायी समितिको बैठक समयमा बस्न नसकेकोमा अध्यक्ष प्रचण्डले जिम्मेवारी लिँदै आत्माआलोचना गरेका छन् । बैठक सुरु हुनासाथ नेताहरु भीम रावल र रघुजी पन्तले बैठक किन एक वर्षमा बसेको भन्दै प्रश्न उठाएका थिए ।
नेकपाको विधानमा स्थायी समितिको बैठक प्रत्येक तीन/तीन महिनामा बस्ने प्रावधान छ ।
स्थायी समितिको बैठक भोली (सोमबार) बिहान ११ बजे बस्ने गरि सकिएको छ ।