मस्कट (जस)– ओमनको राजधानी मस्कटमा ‘नेपाल भ्रमण वर्ष २०२०’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार नेपाल भ्रमण वर्ष २०२०को सचिवालय तथा नेपाली राजदूतावास मस्कटको आयोजनामा ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, वुद्धिजीविहरूलगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
अल–फलाज होटल मस्कटमा आयोजित उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२ को सचिवालयका उप–सचिव राजन पौडेलले भ्रमण वर्षका सम्बन्धमा भए गरेका काम कारवाहीहरू, तयारीहरू, भ्रमण वर्षको लक्ष्य, उद्देश्यका साथै ब्राण्डिङ्ग गाइडलाइनका विषयमा प्रस्तुतीकरण दिएका थिए । उक्त कार्यक्रममा नेपाली राजदूतवास मस्कटका महामहिम राजदूत सर्मिला पराजुली ढकाललले कार्यक्रमको दौरानमा सहभागीहरुबाट उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन खाडी क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायको महत्वपूर्ण भूमिका रहने विषयमा जोड दिँदै ओमानमा यो कार्यक्रमको आयोजना गरेकोमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयप्रति आभार व्यक्त गरिन ।

साथै ढकालले नेपाल भ्रमण वर्ष २०२०को सचिवालयले गैरआवासीय नेपाली संघसँग ‘नेपाल भ्रमण बर्ष २०२०’ लाई सफल बनाउने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको सन्दर्भमा यसको प्रवद्र्धनका लागि गैरआवासीय नेपालीहरुको महत्वपूर्ण योगदान रहनुपर्ने विचारसमेत व्यक्त गरिन । कार्यक्रममा सहभागी गैरआवासीय नेपाली समुदायलगायत उपस्थित सम्पूर्ण महानुभावहरुले भ्रमण वर्षको कार्यक्रमको सम्बन्धमा आफ्ना सुझावहरूसहित चासो व्यक्त गर्दै यसको सफलताका लागि आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष सचिवालयका अन्य कर्मचारीहरू, नेपाली राजदूतावास मस्कटका कर्मचारीहरू लगायत ओमानस्थित नेपालीहरू सहित गरी करिब १०० जनाको उपस्थिति रहेको थियो ।