शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

वैकल्पिक राजनीति र रविको ‘दि लिडर’ कार्यक्रमको चर्चा

शुक्रबार, मंसिर २७ २०७६

युवराज पौडेल

नेपालमा केही वर्ष यतादेखि आएर वैकल्पिक राजनीतिका बहसहरु चलिरहेका छन् । वैकल्पिक राजनीति भन्नाले सामान्यतयः मूल धारका पुराना राजनैतिक दलभन्दा भिन्न विचार, व्यवहार, दृष्टिकोण राख्ने ‘नयाँ धार’ भन्ने बुझिन्छ । वर्तमान सन्दर्भमा नेपालमा वैकल्पिक शक्तिका रुपमा साझा दल, विवेकशील, संघीय समाजवादीले आफूलाई प्रस्तुत गरेका छन् । मूलतः नेकपा माओवादीबाट अलग भई ‘नयाँ शक्ति’को संयोजक भएदेखि नै डा.बाबुराम भट्टराईले नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता र औचित्यका सम्बन्धमा घनीभूत बहस चलाइरहेका थिए । उनी हाल संघीय समाजवादीमा रहे पनि वैकल्पिक राजनीतिक धारकै दलका रुपमा समाजवादीलाई चिनाउने प्रयास गरिरहेका छन् । उनी पछि बीबीसी नेपालका पूर्व पत्रकार रविन्द्र मिश्रले पनि वैकल्पिक राजनीतिको एउटा धारको नेतृत्व गरिरहेका छन् ।

साझा दलका संयोजक समेत रहेका मिश्रले मूलतः उदार लोकतान्त्रिक व्यवस्थाभित्रै एकै पुस्ताभित्रै परिवर्तनको मार्गचित्र सहित राजनीतिमा प्रवेश गरेका छन् । उनले पुराना दलहरुको असक्षमता, भ्रष्टाचारी प्रवृत्ति, पुरानो दलगत संरचना, वृद्धहरुको नेतृत्व आदिप्रति प्रश्न उठाउँदै वैकल्पिक राजनीतिको आवश्यकतालाई प्रस्तुत गरिरहेका छन् । उज्ज्वल थापा, मिलन पाण्डे लगायत अरु पनि वैकल्पिक राजनीतिको धारमा समाहित भएका छन् तापनि साझा पाटी नै वर्तमान वैकल्पिक राजनीतिको केन्द्रमा देखिएको छ र रविन्द्र मिश्र नै यसका मूल प्रवक्ता देखिएका छन् ।

नेपालका मूल धारका राजनैतिक शक्तिका रुपमा मूलतः दुईवटा राजनैतिक दल नेपाली काग्रेस र नेकपा रहेका छन् । यी दलहरु पुराना, परम्परावादी र भ्रष्ट्राचारको दलदलमा फँसेको भन्दै वैकल्पिक शक्तिका नेताहरुले यिनीहरुको औचित्य सकिएको घोषणा गरेका छन् । यी दलहरु आन्दोलन र क्रान्तिको नेतृत्व गर्न सफल भए पनि अबको आर्थिक सवृद्धिको अभियानमा असक्षम भएको उनीहरुको दाबी रहेको छ । पुराना दलका नेता र तिनको संरचना क्रान्ति अनुकूल भएको र आजको एक्काइसौँ शताब्दीको बृहत् संवृद्धिका लागि चाहिने सीप, योग्यता, क्षमता तिनीहरुसँग नभएकाले वैकल्पिक शक्ति अगाडि आउनु परेको उनीहरुले जिकिर गरिरहेका छन् । मूलतःः साझा पाटी यस सम्बन्धमा अलिकति नविन तरिकाले अगाडि बढिरहेको देखिएको छ । यसमा अहिले देशका विविध क्षेत्रका विज्ञहरु पनि बिस्तारै जोडिँदै जाने क्रम बढिरहेको छ । विदेशिएका युवाहरुका माझमा पनि यिनीहरु बिस्तारै जोडिँदै गइराखेको देखिन्छ । गत उपनिर्वाचनमा भने वैकल्पिक दलहरुको स्थिति निराशाजनक देखिएको छ । धेरै ठाउँमा उनीहरुको जनमत समेत जफत भएको छ । यसले वैकल्पिक राजनीति गर्नेहरुका अगाडि थप चुनौती थपिदिएको छ ।

यतिबेला नेपाली जनता एउटा घोर निराशाको अवस्थामा छन् । ‘जुन जोगी आए पनि कानै चिरेका’ ‘कसैले केही गर्दैनन्’ ‘सबै उस्तै हुन्’ भन्ने खालको रुढ तथा नकारात्मक मानसिक स्थितिमा छन् भन्ने कुरालाई उपनिर्वाचनको अभियानका क्रममा जनताले अभिव्यक्त गरेका प्रतिक्रियाहरुबाट पनि पुष्टि हुन्छ। यसको अर्थ जनता आज पनि सन्तुष्ट छैनन्, कसैप्रति विश्वास छैन तर एउटा बाध्यतामा फँसिरहेका जस्ता देखिएका छन् भन्ने हो । जनतामा यस्तो निराशा जन्मनुका पनि कारण छन् । नेपालमा २००७ सालमा ‘राणाहरुले देश विकास गरेनन्’ भन्दै तत्कालीन अवस्थामा नेपाली कांङ्ग्रेस वैकल्पिक शक्ति बनेर आयो । कांग्रेसले पनि जनताले भनेजस्तो गर्न सकेन । २०४८ सालमा पनि काङ्ग्रेसले बहुमतको सरकार बनाउने अवसर पायो, त्यसलाई पनि उसले उपयोग गर्न सकेन । २०५१ सालमा ‘कांग्रेसले विकास गर्दैन’ भन्दै तत्कालीन एमाले काङ्ग्रेसका सन्दर्भमा वैकल्पिक शक्ति बनेर राजनीतिमा उदायो । एमालेलाई जनताले छाने । उसले पनि वृद्ध भत्ताको राग अलाप्ने बाहेक जनताका आवश्यकता पूरा गर्न सकेन । फेरि कहिले कांग्रेस, कहिले एमाले, कहिले राप्रपा गर्दै समीकरणका सरकारहरु बनिरहे, तर पनि देशमा जनताले परिवर्तनको अनुभूति गर्न पाएनन् ।

फेरि संसदीय व्यवस्था ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने प्रणाली हो’ भन्दै सर्वहाराको शासन सत्ता स्थापना गर्नका लागि वैकल्पिक शक्तिका रुपमा तत्कालीन नेकपा माओवादी देखाप¥यो । राजतन्त्र विकासको बाधक हो भन्ने राजनैतिक भाष्य निर्माण भएपछि जनताले दलहरुलाई साथ पनि दिए र राजतन्त्र पनि गयो । संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान पनि मुलुकले पायो । त्यतिमात्रै होइन, दुईदुई वटा राष्ट्रपति र थुप्रै प्रधानमन्त्री पनि गणतान्त्रिक नेपालले भोगिसक्यो । तर पनि भ्रष्टाचार, बेथिति, नातावाद, कृपावाद, अव्यवस्था र अविकासको स्थितिबाट जनताले त्राण पाउन सकेनन् । केवल ठेकदार, डन, व्यापारी, तस्कर, माफिया र केही मुठ्ठीभर नेतालाई मात्र गणतन्त्र आयो । आम जनताले गणतन्त्रको असली स्वाद चाख्न पाएनन् । यही पृष्ठभूमिका बिचमा आफूलाई परिवर्तनकारी शक्ति भन्ने वैकल्पिक दलहरुलाई पनि जनताले विश्वास गर्न सकेनन् । जनताको दलप्रतिको विश्वास हस भइरहेका सन्दर्भमा वैकल्पिक राजनैतिक शक्ति अगाडि आएका छन् । चरम निराशा र अविश्वासको यो स्थितिमा आम जनतालाई ‘अरुभन्दा हामी फरक हौँ’ भन्ने अनुभूति दिलाउन नसक्दासम्म वैकल्पिक राजनीतिको भविष्य पनि जोखिममै देखिएको छ ।

नेपालमा बाबुबाजे जुन दलमा आस्था राख्थे, छोरानाति पनि प्रायः त्यही दलमै आस्था राख्ने प्रवृत्ति बलियो अवस्थामा छ । धेरै भोटहरू पैतृक राजनैतिक पृष्ठभूमिकै आधारमा खस्छन् । अर्काे कुरा जनतामा मूल शक्तिका रुपमा नआइसकेका वैकल्पिक दलप्रति लाग्दा भोलि शक्ति हुने दलबाट काम लिन सकिँदैन भन्ने एक खालको मानसिकता पनि छ । मान्छेले समग्र राजनीतिको परिवर्तन भन्दा पनि पहिला आफ्नो व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिइरहेका कारण पनि समस्या देखिएको छ । शक्ति, सत्ता र पैसा नहुने दलमा लाग्दा व्यक्तिगत फाइदा उठाउन सकिन्न भन्ने मानसिकताले पनि यसमा काम गरिरहेको छ । व्यक्तिगत असुरक्षाका कारण र वैकल्पिक भरपर्दाे शक्ति नभइसकेका कारण पनि जनता बाध्यताले पुरानै दलमा टाँस्सिनु परेको अवस्था पनि छ । अर्काेतर्फ वैकल्पिक राजनैतिक दलहरुको सङ्गठन भूँइतहसम्म सशक्त देखिएको छैन ।

केही सहरबजारका शिक्षीत समुदायमा मात्र यसको प्रभाव छ, । राजनैतिक दलका रूपमा यिनको लामो इतिहास पनि छैन । केही आधुनिक पढालेखा युवाहरुमा मात्र यसको प्रभाव देखिएको छ । समाजमा कसैले परिवर्तनकारी सोच राख्यो भने परम्परावादी ठूलो समूहको चौतर्फी आक्रमणमा परेर त्यस्तो सोच राख्नेहरु पनि पछाडि फर्कनु परेका उदाहरणहरु प्रशस्तै छन् । गत तिहारको बेलामा देउसी भैलो व्यङ्ग्यमा प्रधानमन्त्री लगायत थुप्रै नेताहरुका अगाडि बाबुराम भट्टराई र अशोक राईहरुलाई ‘चौटा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेर व्यङ्ग्य गर्दा प्रज्ञा भवनको हल हाँसोले गुञ्जायमान भएको थियो । यद्यपि त्यो हाँस्यव्यङ्ग्य कार्यक्रम थिया, तापनि त्यो आम जनताको बुझाइको प्रतिनिधि बोली पनि हो । नेपालमा पदको लोभ नगर्ने, नैतिक र संस्कारको राजनीति गर्नेहरुले यस्तै खिसिट्यिुरीको सामना गरिहनुपर्छ । जुनसुकै हतकण्डा अपनाएर पनि शक्ति र सत्तामा बस्ने नेतालाई नै ठूलो ठान्ने गलत मानसिकताका कारण पनि राजनीतिमा सुधार सम्भव भइराखेको छैन ।

यसै सन्दर्भमा गत बिहिबार राजधानीमा चर्चित पत्रकार रवि लामिछानेले ‘द लिडर’ नामको टेलिभिजन सो कार्यक्रमको घोषणा गरे । सो कार्यक्रमबाट देशैभरिका विभिन्न ठाउँबाट विभिन्न अडिसन राउन्डहरु मार्फत् ‘टप हन्ड्रेड’ अर्थात् सय जना नेता छानिने कुरा उनले बताएका छन् । टेलिभिजन रियालिटी सो मार्फत् नेता छान्ने प्रक्रियामा निर्णायकको भूमिकामा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई, साझा पाटीका संयोजक रविन्द्र मिश्र र पूर्व प्रधानन्यायधीश शुशीला कार्कीलाई चयन गरिएको छ । ५ जनाको निर्णायक मण्डलमा अझै दुई जना निर्णायकको खोजी भइरहेको उक्त कार्यक्रममा बताइएको छ । रवि लामिछानेको यो नयाँ योजनाले राजनैतिक वृत्तमा समेत निकै चर्चा बटुलिरहेको छ । रवि विगतदेखि नै केही न केही नयाँ कुरा गरेर देखाउन चाहने महत्वकांक्षी व्यक्तिका रुपमा देखिन्छन् । सबैभन्दा लामो टेलिभिजन कार्यक्रम गरेर अन्तराष्ट्रिय छवि बनाएका रविले ‘सिधा कुरा जनतासँग’ कार्यक्रमबाट पनि निकै ठूलो लोकप्रियता कमाए । उनले ‘सिधा कुरा’ मार्फत् विदेशी भूमिमा अलपत्र परेका, दुःख पाएका धेरै युवा तथा चेलीबेटीहरुको उद्धार पनि गरे । उनले भ्रष्टाचारी र म्यानपावर दलालहरुको टेलिभिजनबाटै हुर्मत काढे । उनी न्यायका पक्षमा निरन्तर बोलिरहे । यही कारणले चितवनमा उनलाई साथ दिने ठूलो जनमत देखाप¥यो ।

पछिल्लो ‘दि लिडर’ कार्यक्रमको घोषणापछि रवि कतै राजनीतिमा आउन खोजेका त होइनन् भन्ने चर्चा परिचर्चा पनि सुरु भइरहेको छ । तर उनले आफू राजनीतिमा अझै आउन नचाहेको बताइरहेका छन् । उनको यो टेलिभिजन रियालिटी सो नेता जन्माउनका लागि भन्दा पनि नेता कस्तो हुनुपर्छ भनेर एउटा सन्देश दिने उद्देश्यका साथ गरिएको देखिन्छ । राजनेताको खडेरी परिरहेको बेलामा राजनेता कस्तो हुनुपर्छ भन्ने सन्देश नेपाली नेताहरुलाई दिने अभिप्राय यसमा लृकेको छ । तर यसका निर्णायकहरुको राजनैतिक पृष्ठभूमिलाई लिएर केही पुरातनवादी दल र तिनका आसेपासेहरुले नकारात्मक प्रचारबाजी सुरु गरिसकेका छन् । रविले ‘सिधाकुरा’ मार्फत् धेरै नेता, दलाल, माफिया, भ्रष्टाचारीहरुको विरोध गरेका छन् । विरोधीहरु त्यसको बदला लिने ‘स्पेश’ खोजिरहेका छन् । विभिन्न मिडिया, दलका नेता, कर्मचारी, प्रहरी, म्यानपावर मालिक आदि नियोजित तरिकाले रविको विरोधमा लागिरहेका छन् । पुरानो सत्ताबाट फाइदा लिएका भरौटेहरु पनि रविको विरोधमा दिलो ज्यानले लागिरहेकै छन् । चितवनमा फँसाउने प्रपञ्चबाट असफल भएर तिलमिलाएकाहरुले अनेक वाहना खोजिरहेका छन् तर पनि सत्यको पक्षमा लडिरहँदासम्म रविले कहिल्यै हार्दैनन् । उनी देशका लाखौँलाख युवाहरुको ढुकढुकी भइसकेका छन् । विदेशमा मृत्यु कुरेर बसेका हजारौँ चेलीबेटीका लागि उनी ‘भगवान्’ को रुपमा देखापरेका छन् ।

दशकौँसम्म सत्ता र शक्तिमा बसेकाहरुले एउटा टेलिभिजन पत्रकारले जति पनि गर्न नसकेकोमा लज्जाबोध हुनुपर्ने ठाउँमा उल्टो ‘गोयबल्स’ शैलीमा उत्रिनु हास्यास्पद छ । एउटा टेलिभिजन पत्रकारको हैसियतले भ्याएसम्म उनले थुप्रै पीडितहरुका आवाज बोलिदिएका छन् । परिवर्तनको आशा बोकेर बस्नेहरुका लागि उनी उज्यालो दीप बनेर प्रस्तुत भएका छन् । देशभित्र नेतैनेता भएको अवस्थामा पनि राजनेताको अभाव सवत्र्र महसुस भइरहेका बेला वास्तवमा उनले ‘द लिडर’ मार्फत् एउटा नया प्रयोग गर्न खोजेका हुन्, एउटा म्यासेज दिन खोजेका हुन् । टेलिभिजन सोबाट मात्र नेता जन्मन्न भन्ने तथ्य रविले राम्रैसँग बुझेका छन् । फेरि नेता बन्न सधैँ जेलनेल भोगेको मात्र हुनुपर्छ भन्ने मान्यता पनि समयानुकूल नहुन सक्छ । कुनै समय र सन्दर्भमा त्यो उपयुक्त भए पनि सधैँ त्यही ‘लोगो’मा शासन र सत्ताको दोहन गर्ने शैली उपयुक्त हुँदैन ।

समय, युग र इतिहासको आवश्यकता अनुसार नेता बन्ने र छान्ने प्रक्रिया पनि परिवर्तन हुन्छ भन्ने कुरा पुरातनवादी ‘माइन्डसेट’ भएकाहरुले बुझ्नु जरुरी छ । सकारात्मक कुरा देख्नै नसक्ने र सिर्जनात्मकता कहिल्यै नरुचाउनेहरु जहिले पनि ‘रियाक्टिभ’ हुन्छन् ‘प्रोएक्टिभ’ हुँदैनन् । रवि ‘प्रोएक्टिभ’ व्यक्ति हुन् भने उनको विरोध गर्नेहरु ‘रिएक्टिभ’ मात्र हुन् । उनले कुनै अपराध गरेका होइनन् । कार्यक्रम घोषणा गर्ने बित्तिकै छटपटिहाल्नु पर्दैन । सकारात्मक काम जसले गरे पनि सर्मथन गर्दा केही बिग्रन्न । आखिर गलतलाई गलत र राम्रोलाई राम्रो भन्न नसक्दा नै आज मुलुकले यो दुर्दशा भोगिरहनु परेको यथार्थलाई प्रत्येक देशभक्त नेपालीले हृदयदेखि नै मनन गर्नु जरुरी भइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार