शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

पाकिस्तान–श्रीलङ्का टेस्ट क्रिकेट, कडा सुरक्षा व्यवस्था

बुधबार, मंसिर २५ २०७६

रावलपिन्डी(÷एएफपी) : श्रीलङ्का र पाकिस्तान बीच रावलपिन्डीमा आयोजित पहिलो टेस्ट क्रिकेट प्रतियोगितामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । एक दशकअघि श्रीलङ्काली टोलीमाथि पाकिस्तानमा सन् २००९ मा साङ्घातिक हमला भएयता श्रीलंकाली टोली पहिलो पटक टेस्ट खेल्न पाकिस्तान गएको हो । श्रीलङ्काली टोलीले यस पटक रावलपिन्डी र कराँचीमा दुई टेस्ट खेल्दैछ । श्रीलङ्काली टोलीको यस भ्रमणबाट अन्य मुलुकलाई पनि पाकिस्तान भ्रमणमा निम्त्याउन सहज हुने पाकिस्तानले विश्वास गरेको छ । सन् २००९ को मार्चमा लाहोरको गद्दाफी रङ्गशाला जाँदै गर्दा श्रीलङ्काली टोलीमाथि भएको आक्रमणका क्रममा आठ जना सर्वसाधारण मारिनुका साथै धेरै खेलाडी र खेल अधिकारी घाइते भएका थिए ।
श्रीलङ्काले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । पछिल्लो ताजा विवरण अनुसार ४३ ओभरमा श्रीलङ्काले ३ विकेटको क्षतिमा १२४ रन बनाएको छ । रावलपिन्डी शहर पाकिस्तानी सेनाको मुख्यालयसमेत रहेको निकै सुरक्षित शहरका रुपमा परिचित छ । “अवश्य पनि बुधबार पाकिस्तान क्रिकेटको ऐतिहासिक दिन हो र हामी सबै उत्साहित छौं,” पाकिस्तानी टिमका कप्तान अजहर अलीले भने । “हामी यस अवसरलाई जितका रुपमा सम्झनायोग्य बनाउन चाहन्छौँ ।”श्रीलङ्काले गत सेप्टेम्बर र अक्टुबरमा पाकिस्तानको भ्रमण गरी सीमित ओभर खेल खेलेको थियो । उक्त खेलमा सहभागी नभएका तर टेस्ट टिमको कप्तानका रुपमा पहिलो पटक पाकिस्तानको भ्रमणमा आएका दिमुथ करुणरत्नेले यस खेललाई अगाडि बढाउन उत्सुक रहेको बताए ।
“हामी सबै उत्साहित छौँ र खेल सुरु भएपछि क्रिकेटमा नै ध्यान केन्द्रित हुनेछ,” करुणरत्नेले बताए । रङ्गशालाको वरिपरि र भित्रसमेत बाक्लो सुरक्षा व्यवस्था गरिएको छ भने रङ्गशाला प्रवेश गर्ने राजमार्गसमेतमा कडा जाँच गरिएको छ । सुरक्षा जाँचका कारण शहरको ट्राफिक अस्तव्यस्त भएको छ । भारी सुरक्षाका बाबजूद मैदानमा प्रशंसकको ठूलो भीड जम्मा भएको छ । पाकिस्तान क्रिकेट बोर्डका अनुसार अन्तरराष्ट्रिय क्रिकेटको अनुपस्थितिले पाकिस्तानी खेल समर्थकलाई खल्लो अनुभूति भएको अवस्थामा श्रीलङ्काली टोलीले भ्रमण गर्नु निकै महत्वपूर्ण हो । पाकिस्तानमा खेल नहुँदा पाकिस्तानी खेलको प्रतिष्ठाका साथै “पर्याप्त” आर्थिक क्षति भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार