शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

साग खेलकूद सफल र ऐतिहासिक : प्रधानमन्त्री

मंगलबार, मंसिर २४ २०७६

काठमाडौँ(जस)–प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना व्यक्त गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भव्य समापन समारोहलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खुशी व्यक्त गरेका हुन् ।“दक्षिण एशियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एशियाली खेलको अत्यन्तै ठूलो महत्व रहेको र यो खेल आजैैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुशी व्यक्त गर्न चाहन्छु, भूकम्पबाट ध्वस्त भएका संरचनाहरु तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ”, प्रधानमन्त्रीले आफ्नो सन्देशमा भन्नुभएको छ । यस पटकको खेलमा पहिले कहिलेभन्दा बढी खेलाडीको सहभागिता, पहिलेभन्दा बढी खेलहरु समावेश भएको उल्लेख गर्दै उनले पहिलेभन्दा साग प्रतियोगिता सफल र ऐतिहासिक रहेको बताए ।
प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकूदले दक्षिण एशियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने कुराको अपेक्षा गरिएकामा त्यो अपेक्षा यस पटकको तेह्रौँ दक्षिण एशियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको बताए । उनले संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई ज्ञापन गर्दै धन्यवाद दिएका छन् ।
काठमाडौँ, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एशियाली खेलकूदको सुखद समापनमा हामी आइपुग्नु ज्यादै खुशीको कुरा हो भन्दै प्रधानमन्त्रीले यस सन्दर्भमा सफलताका लागि योगदान गर्ने नेपाललगायत सबै सहभागी देशका सरकार, खेल क्षेत्र, खेलाडी र प्रशिक्षक सबैलाई धन्यवाद दिए ।
प्रधानमन्त्री ओलीले भव्य रुपमा सफल भएको यस दक्षिण एशियाली खेलकूदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्नेगरी योगदान गर्नुहुनेछ भन्ने अपेक्षासमेत गरेका छन् । आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्र भागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरुले खेलमा गरेका छन् त्यसप्रति हार्दिक धन्यवाद दिँदै उनले जुन सफलता प्राप्त भएको छ । सफलता प्राप्त गर्ने सबै खेलाडीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले सागमा ५१ स्वर्णसहितका पदक विजेता खेलाडीलाई प्रधानमन्त्री ओलीले बुधबार आफ्नो निवास बालुवाटारमा भेट गरेर प्याकेजको घोषणा गर्ने भएका छन् । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले प्रधानमन्त्रीले बुधबार खेलाडी, प्रशिक्षकसबैलाई भेटेर प्याकेजको घोषणा गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार