शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

तेह्रौँ साग सम्पन्न : हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा समापन

मंगलबार, मंसिर २४ २०७६

काठमाडौँ(जस)–तेह्रौँँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मंगलबार साँझ दशरथ रङ्गशालामा ऐतिहासिक र भव्य समारोहबीच समापन भएकोे छ । व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिँगारिएको रङ्गशालामा आयोजित विशेष समारोहमा हजारौँ दर्शक तथा खेलाडीको उपस्थितिमा आतसबाजी र विविध मौलिक सांस्कृतिक कार्यक्रमसहित साग समापन सम्पन्न भएको हो । समापन समारोहको शुरुमा सहभागी सातै देशका खेलाडी, प्रशिक्षक र अधिकृतले आ–आफ्नो देशको झण्डा बोकेर मार्चपास गरेका थिए । समारोहमा प्रतियोगिताको मस्कट कृष्णसार र नेपाली संस्कृतिको अङ्ग लाखे नृत्य प्रदर्शन गरिएको थियो । प्यारापिटको दर्शकदीर्घामा नअटाएपछि हजारौँ उभिएरै समापन समारोहको अवलोकन गरेको देखिन्थ्यो ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो सन्देश दिँदै दक्षिण एशियाली मुलुकहरूको मिनी ओलम्पिक खेलकूद प्रतियोगिताका रूपमा रहेको सागले यस क्षेत्रका जनतामा एकता, मित्रता अभिवृद्धि गर्ने कार्यमा अत्यन्तै सफलता हासिल गरेको बताए । प्रतियोगिताको सफल आयोजना र उत्कृष्ट खेलका निम्ति आयोजक र खेलाडीलाई बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले प्रतियोगिताको समापनको सुखद सफलताका लागि योगदान गर्ने सरकार र खेलक्षेत्र सबैलाई धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, “अत्यन्तै भव्यरूपमा सफल भएको यो प्रतियोगिताले नेपाल भ्रमण वर्ष २०२० लाई पनि सफल तुल्याउन योगदान पु¥याउनेछ । खेललाई अनुशासित र मर्यादित बनाउन नेपाली खेलाडीले पु¥याएको योगदानप्रति धन्यवाद छ र प्राप्त सफलताका लागि बधाई ।” उक्त प्रतियोगिताको राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर १५ गते उद्घाटन गरेका थिए । छब्बीस खेल विधामा ३२० स्वर्ण, त्यतिकै सङ्ख्यामा रजत र ४८१ काश्य पदकका लागि काठमाडौँ, पोखरा र जनकपुरमा प्रतियोगिता सञ्चालन भएको थियो ।
समापन समारोहमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस पटकको साग प्रतियोगितामार्फत दक्षिण एशियाली मुलुकका जनताबीच हार्दिकता र मित्रता कायम गर्न सफल भएको बताए । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेश सिलवालले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) छोटो समयको तयारीमा ऐतिहासिक र भव्यरूपमा सम्पन्न भएको बताए । सागलाई सफल तुल्याउन करिब १८ हजार सुरक्षाकर्मी र ५०० स्वयंसेवक परिचालन गरिएको थियो । सन् १९८४ मा स्थापना भएको सागको १३औँ शृङ्खलासम्म आइपुग्दा नेपालले यसअघि दुई प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको थियो । समापन समारोहमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, अर्थमन्त्री डा युवराज खतिवडा, युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मालगायतका विशिष्ट महानुभाव उपस्थित थिए ।
सन् १९८४ मा पहिलोपटक नेपालबाट शुरु भएको सागको नेपालमा भएको यो तेस्रो संस्करण हो । दक्षिण एशियाली मुलुकबीचको यो प्रतियोगितालाई खेलकूद उत्सवका रूपमा लिने गरिन्छ । सागमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिभ्स, भूटान र श्रीलङ्काका खेलाडीले २६ खेल विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा भारत पहिलो भयो भने नेपालले ५१ स्वर्णसहित दोस्रो स्थान कायम गर्न सफल भयो । यस सागमा पहिलो पटक २७ वटा खेल समावेश भएकोमा आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो । नेपालले पदक तालिकामा ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक गरि कुल २०६ पदक जितेर घरेलु मैदानमा सम्पन्न सागमा उत्कृष्ट प्रदर्शन गरेको छ । नेपालले यो सागमा अहिलेसम्मकै धेरै पदक जितेर नयाँ इतिहास पनि बनाएको छ । नेपाली जलपरीको उपमा पाएकी पौडी खेलाडी गौरिका सिंहले एउटै संस्करणमा धेरै वटा स्वर्ण जित्ने किर्तिमान बनाएर यस सागलाई स्मरणीय बनाएकी छन् । यस सागमा गौरिकाले ४ स्वर्ण २ रजत र ३ काश्य पदक जितेकी छन् ।
नेपालले सबैभन्दा बढी स्वर्ण तेक्वान्दोमा जित्यो । तेक्वान्दोमा नेपालले कुल १२ वटा स्वर्ण र कराँतेमा १० वटा स्वर्ण जितेको छ । त्यस्तै नेपालले पुरुष फुटबलमा स्वर्ण पदक जितेर यस अघिको सागमा जितेको स्वर्ण पदकलाई निरन्तरता दिएको छ । साइक्लिङ, ट्रायथलन, गल्फ, बक्सिङ, एथलेटिक्समा नेपालले आशा गरे भन्दा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भयो । भारतले १७४ वटा स्वर्ण, ९३ रजत र ४५ काश्यसहित कुल ३१२ वटा पदक जितेर शिर्ष स्थानमा रह्यो । त्यस्तै श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ वटा काश्यसहित २५१ वटा पदक जित्यो भने पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ वटा काश्यसहित १३१ पदक जित्न सफल भयो । त्यस्तै बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ काश्यसहित १३८ पदक जित्यो । त्यस्तै माल्दिभ्सले १ स्वर्ण र ४ वटा काश्य जित्यो भने भूटानले ७ रजत १३ काश्य पदक जित्न सफल भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार