काठमाडौं (एजेन्सी)– विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले रसियालाई चार वर्ष ठूला अन्तर्रा्ष्ट्रिय खेलकुद प्रतियोगिता खेल्नबाट प्रतिबन्ध लगाएको छ । वाडाले रसियालाई सन् २०२० मा जापानमा हुने ओलम्पिक खेलकुद र सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल खेल्न समेत प्रतिबन्ध लगाएको छ । यद्यपि, डोपिङबाट आफूलाई निर्दोष सावित गर्ने रसियाका खेलाडीले संयुक्त राष्ट्रसंघको तटस्थ झन्डामुनि रहेर ठूला प्रतियोगितामा सहभागीता जनाउन सक्नेछन् ।
यसअघि ओलम्पिकमा पनि अधिकांश खेलाडीमा डोपिङ देखिएको भन्दै वाडाले रुसलाई सचेत गराएको थियो । ब्राजिल ओलम्पिकमा धेरै खेलाडीलाई प्रतिबन्ध समेत गरेको थियो । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदले यस प्रतिबन्धलाई रुसविरोधीको षड्यन्त्र भएको बताएका छन् ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुससँग वाडाको निर्णयको विरुद्व अपिल गर्ने आधार रहेको प्रतिक्रिया दिएका छन् । स्वीटजरल्यान्डमा सोमबार बसेको वाडाको कार्यकारी समितिको बैठकले रसियालाई ठूला खेलमा प्रतिबन्ध लगाउने बिषयमा सर्वसम्मत निर्णय गरेको थियो । यस निर्णयमा रुसले २१ दिनभित्र विश्व खेलकुदको अदालत (कोर्ट अफ आर्बिटेसन फर स्पोर्टस) मा अपिल गर्न सक्नेछ ।