काठमाडौँ(जस)–तेह्राैं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ । सातदोबाटोमा सोमबार भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । उनले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जितेका हुन् । यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो ।
सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जित्नुभएको थियो । त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्णपदक जितेको थियो । त्यसैगरी महिला ४८ केजी तौलसमूहमा ललिता महर्जनले रजत पदक हात पारे । उन भारतकी श्रीनिभासन कालाइभानीसँग पराजित भएपछि रजतपदक हात पारेका हुन् । योसँगै १३औँ सागमा नेपालको स्वर्ण पदक ४६ पुगेको छ ।