सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

वैरो संघद्धारा मन्त्री ज्ञवालीसँग भेट, मागपत्र प्रमाणीकरण तथा भिसा स्ट्याम्पिङ लगायतका समसामायिक समस्याका बिषयमा ध्यानाकर्षण

बिहिबार, मंसिर १९ २०७६

काठमाडौं (जस)–नेपाल बैदेशिक रोजगार ब्यबसायी संघको प्रतिनिधी मण्डलले नेपाल सरकारका परराष्ट्र मन्त्री मानानीय प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको छ । वैदेशिक रोजगारमा हाल देखिएका राजदूतावासबाट मागपत्र प्रमाणीकरण तथा यूरोपियन एम्बेसीमा भिसा स्ट्याम्पिङका सम्बन्धमा देखिएका समस्या लगायतका समसामायिक बिषयमा बिहिबार संघको प्रतिनिधी मण्डलले मन्त्री ज्ञवालीसँग भेट गरेको हो ।


भेटमा संघले वैदेशिक रोजगार क्षेत्रमा दीर्घकालीन असर गर्ने निर्णय कार्यान्वयन गर्नुअघि संघसँग छलफल गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । छलफलमा संघ अध्यक्ष विष्णुप्रसाद गैरेले संघ वैदेशिक रोजगार क्षेत्रको प्रमुख सरोकारवाला संस्था भएको भन्दै कुनै निर्णय कार्यान्वयन गर्नुअघि छलफल गरेर संघ र संघमा आवद्ध आम व्यवसायीहरुलाई विश्वासमा लिए मात्र सुधारका प्रकृयाले अपेक्षित परिणाम दिने बताए । वैदेशिक रोजगार क्षेत्रमा दीर्घकालीन असर गर्ने निर्णय कार्यान्वयनका सम्बन्धमा संघले गम्भीर सरोकार रहेको भन्दै मन्त्रीसँग भेटेर उक्त आग्रह गरेको हो ।
संघले विदेशस्थित नेपाली नियोगले गर्ने मागपत्र प्रमाणीकरण सहज रुपमा गरिदिने वातावरण निर्माण गरिदिन आग्रह गरेका छ । साउदी अरबलगायतका मुलुकमा मागपत्र प्रमाणीकरणमा व्यवसायीले समस्या झेल्नुपरेको भन्दै सम्बोधनका निम्ति पहल गरिदिन आग्रह गरेका थिए। संघका महासचिव सुजित श्रेष्ठले व्यवसायीले राम्रा मुलुकबाट पनि कामदारको माग ल्याउने गरेको भएतापनि ति देशमा मागपत्र प्रमाणीकरण गर्ने नेपाली नहुँदा व्यवसायीले समस्या झेल्नु परेको बताए।

त्यस्तै संघका सल्लाहकार किरणकिशोर घिमिरेले वैदेशिक रोजगारका समस्या समाधानमा श्रम मन्त्रालयले समन्वयकारी भूमिका नखेलेको भन्दै वैदेशिक रोजगार राज्यको निम्ति आवश्यकता हो/होइन भन्ने प्रस्ट नभएको बताए। उनीहरुले वैदेशिक रोजगारको मुख्य सरोकारवाला व्यवसायी भएता पनि नीति निर्माण गर्ने क्रममा भने राज्यले व्यवसायीलाई बेवास्ता गरेको गुनासो गरे।

त्यस्तै संघका पूर्वअध्यक्ष बिमल ढकालले मागपत्र प्रमाणीकरणको नाममा विदेशमा रहेका नेपाली नियोगमा कार्यरत कर्मचारीले अनावश्यक दुःख दिने गरेको बताए। संघका अर्का सल्लाहकार प्रज्ञान न्यौपानेले विदेशमा रहेका नेपाली नियोगका कर्मचारी प्रविधिमैत्री हुने हो भने व्यवसायीका अधिकांश समस्या न्यूनीकरण हुँदै जाने बताए। पटकपटक कामदार पठाउँदै आएको कम्पनीको मागपत्र प्रमाणीकरण गर्न समेत व्यवसायीले सास्ती भोग्नु परेको उनको भनाइ थियो।

व्यवसायीका मागका सम्बन्धमा मन्त्री ज्ञवालीले मागपत्र प्रमाणीकरणलाई थप सहजीकरण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको जानकारी दिए। वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन नेतृत्वदायी भूमिका खेल्न संघका नवनिर्वाचित पदाधिकारीलाई आग्रह गर्दै उनले मुख्यरुपमा तीन सुझाव दिएका थिए। ‘पहिलो बाध्यता बनेको वैदेशिक रोजगारीलाई अब रोजाईको विषय बनाऔं। दोस्रो (अदक्ष) कामदार आपूर्ति गर्दै आएको मुलुकबाट कम्तिमा अर्धदक्ष कामदार पठाउने मुलुकको रुपमा चिनाऔं। र तेस्रो विदेशबाट प्राप्त रेमिट्यान्सलाई उत्पादन मुलुक क्षेत्रमा लगाउन सँगै सहकार्य गरौं’ उनले भने।

प्रतिक्रिया
सम्बन्धित समाचार