काठमाडौं । जारी १३औ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पौडी तर्फ नेपालले स्वर्ण पदक जितेको छ । नेपालका लागि २ सय मिटरको फ्रीस्टाइलमा गौरिका सिंहले स्वर्ण पदक जिताएकी हुन् । सागको इतिहासमा व्यक्तिगततर्फ नेपालले स्वर्ण जितेको पहिलो पटक हो । यो सँगै जारी सागमा नेपालको स्वर्ण पदकको संख्या ३३ पुगेको छ । नेपालले सागको इतिहासमा पहिलो पटक धेरै स्वर्ण पदक जित्ने किर्तिमान समेत बनाएको छ । यस अघि नेपालले १९९९ मा काठमाडौँमै भएको सागमा ३१ स्वर्ण जितेको थियो ।
पौडीमा शाह र लामाद्वारा नयाँ राष्ट्रिय किर्तिमान
काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को पौडीमा नेपालले दुई वटा राष्ट्रिय कीर्तिमान बनाएका छन् । पौडीको पहिलो दिन हिट चरणमा नेपालका एलेक्जेण्डर शाह र डुवना लामाले कीर्तिमान बनाएका हुन् । सातदोबाटोस्थित पौडी पोखरीमा पुरुषतर्फ एलेक्जेण्डरले दुई मिनेट ०२ दशमलव ३० सेकेण्डमा दुई सय मिटर पार गर्दै शिरिष गुरुङको नाममा रहेको कीर्तिमान भंग गरे । गुरुङले दुई मिनेट ०६ दशमलव ३५ सेकेण्डमा पूरा गरेका थिए । डुवानाले भने दुई मिनेट ४८ दशमलव ५७ सेकेण्डमा दुई सय मिटर पार गर्दै आफ्नै कीर्तिमान सुधार गरिन् । यसअघि उनकै नाममा दुई मिनेट ५५ दशमलव ०९ सेकेण्डको कीर्तिमान थियो ।