कास्की(रासस)–कञ्चनपुर महेन्द्रनगरका हिमाल टमाटालाई आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा कुनै रहेन, यसले नयाँ इतिहास समेत रचना ग¥यो । नेपालमा जारी १३ औँ दक्षिण एशियाली खेलकूद(साग)मा ट्रायथोलनअन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक डुआथोलनमा स्वर्ण पदकसमेत प्राप्त भयो । भारतमा सम्पन्न १२औँ संस्करणदेखि सागमा ट्रायथोलन खेल समावेश भएको थियो । सो प्रतियोगितामा नेपालले कास्य पदकमा चित्त बुझाउनुपरेको थियो । घरेलु मैदानमा भएको प्रतियोगितामा ट्रायथोलनमा महिलातर्फ सोनी गुरुङ र पुरुषतर्फ टमाटा स्वर्ण पदकमा हासिल गर्न सफल भए ।
अन्तरराष्ट्रिय प्रतियोगितामा स्वर्ण चुम्ने टमाटाको सपना यस पटक साकार भएको छ । उनले दुई वर्षअघि नेपालगञ्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितमा स्वर्ण पदकको सपना देख्न शुरु गरेका थिए । नेपाली सेनामा सेवारत टमाटाका लागि आठौँ राष्ट्रिय खेलकूद जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । राष्ट्रिय खेलकूदमा उनले डुआथोलन र माउन्टेन बाइकक्रस कन्ट्री दुवै खेलमा सहभागिता जनाउनुभएको थियो । एक दिनको अन्तरमा भएका दुवै प्रतियोगितामा उनले राम्रो गर्न सकेका थिएनन् । सागमा डुआथोलनमा रजत पदक विजेता लक्ष्मण मल्लले उनलाई पराजित गरेका थिए ।
राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्नलगत्तै टमाटा डुआथोलनमा मात्र केन्द्रित हुने निर्णयमा पुगेका थिए । उनी सागमा स्वर्ण जित्ने लक्ष्यसहित हरेक दिन अभ्यासमा व्यस्त हुन थालेका थिए । दौड र साइक्लिङमा उनको क्षमतालाई चिनेका प्रशिक्षकले समेत त्यसैतर्फ उनलाई प्रेरित गरिरहनुभयो । “राष्ट्रिय खेलकूदपछि एउटा मात्र खेलमा केन्द्रित भएर राम्रो गर्नुर्छ भन्ने मलाई लाग्यो । त्यस बेलादेखि नै डुआथोलनमा स्वर्ण हासिल छाड्छु भन्ने विश्वासले दिनहुँ अभ्यास गर्न थालेँ”, टमाटा भन्छन ।
सागमा स्वर्ण हासिल गरेलगत्तै उनले हरेक चार वर्षमा आयोजना हुने एयिशाली खेलकूद (एशियाड)मा पदक जित्ने सपना देख्न शुरु गरिसक्नुभएको छ । चीनमा सन् २०२२ मा तय भएको एशियाली सो प्रतियोगितामा पदक जितेर कीर्तिमान राख्ने उनको धोको रहेको छ । उन भन्छन, “कठिन अवस्थामा समेत म कहिल्यै हतास र निराश हुन्न । मानिसले लक्ष्य ठूलो राख्नुपर्छ । लक्ष्यअनुसारको मेहनत र परिश्रम ग¥यो भने असम्भव केही पनि छैन । अब देशलाई एशियन गेममा पदक हासिल गराउने अब मेरो सपना छ ।”
सागको तयारीका क्रममा समेत धेरै चुनौती उनले सामना गर्नुपरेको थियो । उनलाई अभ्यासका क्रममा नयाँ साइकल आउने भनिएको थियो । प्रतियोगिताको दिनसम्म पनि नयाँ साइकल आएन । राम्रो पार्टपुर्जा र गुणस्तरीय साइकल भएका अन्य स्पर्धीसँग उन सन् २०१४ मोडलको पुरानै साइकल लिएर स्पर्धामा होमिन विवश भएका थिए । त्यतिमात्र होइन खेलमा लगाउने पोशाकसमेत उनले समयै पाएनन् । प्रतियोगिताको एकदुई दिनअघि आएको पोशाक उनको शरीरमा मिलेन । “साथीको मागेर खेलमा भाग लिएँ । हाम्रो साइकल पाँचछ वर्ष पुरानो आल्मुनियमको हो । कार्बनको राम्रो साइकल भएकाहरुसँग स्पर्धा गर्न कठिन भए पनि आत्मबलकै कारणले जित हासिल भयो”, उन भन्छन ।
उनी १४÷१५ वर्षका उमेरदेखि नै खेलकूदमा आकर्षित हुँदै आएका थिए । दौड र कराँतेमा उनको विशेष लगाव रहेको थियो । विभिन्न जिल्ला तथा क्षेत्रीय प्रतियोगितामा पाँच र १० किमी दौडमा उनले भाग लिन्थे । नेपाली सेनामा भर्ती भएपछि उनलाई खेल्ने वातावरण अझै अनुकूल बन्यो । नेपाली सेनाका मेजर राजीव चन्दले उनलाई अघि बढ्न सधैँ प्रेरित गरिरहे । शुरुमा साइकल राम्रोसँग डोहो¥याउनसमेत नजान्ने उनलाई चन्दले नै साइकल चलाउन सिकाएका थिए । “मैले जुन सफलता पाएको छु, त्यसमा मेजर राजीव चन्दको ठूलो योगदान छ । उनले नै मलाई अघि बढ्न सहयोग गरे । खुट्टा समातेर मलाई साइकल चलाउन सिकाउनुभयो,” उनी भन्छन । आफू एशियाडको तयारीमा जुट्ने जानकारी दिँदै उन सरकारले खेलाडीलाई सहयोग गर्न माग गर्नुहुन्छ । नेपाली टोलीका प्रमुख प्रशिक्षक युवराज सुनुवार टमाटा क्षमतावान् खेलाडी भएको बताउँछन् । उनी भन्छन, “राष्ट्रिय खेलकूद परिषद्बाट समयमै टोलीका लागि आवश्यक खेल सामग्री आउन ढिलाइ भयो । हाम्रा खेलाडी अभावका बीचमा समेत उत्कृष्ट नतिजा निकाल्न सफल भए ।”