काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले इराकमा रहेका नेपालीहरुको सुरक्षामा ध्यान दिन नेपालका लागि इराकका नवनियुक्त गैरआवासिय राजदुत डा.फलाह अब्लुल्हसन अब्दुलसदालसँग आग्रह गरेका छन् ।
गृहमन्त्रालयमा बिहिबार भएको शिष्टाचार भेटमा थापाले इराकमा ठूलो संख्यामा रोजगारीको लागि नेपालीहरु पुगेको भन्दै उनीहरुको सुरक्षामा विशेष ध्यान दिन डा. अब्दुलसदालसँग आग्रह गरेका हुन् ।
गृहमन्त्री थापासँगको भेटमा नेपालका लागि इराकका नवनियुक्त गैरआवासिय राजदुत डा. अब्दुलसदाले इराकमा रहेका नेपालीहरुको सुरक्षामा आफुहरु गम्भिर रहेको बताउँदै इराकको विकासमा नेपालीहरुको महत्वपुर्ण योगदान रहेको चर्चा गरे । उनले आतकंवाद अहिले विश्वको साझा समस्या रहेको भन्दै आतकंवाद विरुद्ध आफुहरुको लडाईमा नेपालको समेत साथ रहने विश्वास व्यक्त गरे ।
भेटमा थापाले नेपाल भ्रमण वर्षमा थप पर्यटकहरुको आगमनको लागि वातावरण बनाईदिन नवनियुक्त राजदुत डा. अब्दुलसदालाई आग्रह पनि गरेका थिए । उनले भारतसम्म आउने इराकी पर्यटकलाई नेपाल भ्रमणको लागि वातावरण बनाउन आग्रह गरेका थिए ।
छलफलमा डा. अब्दुलसदाले नेपाल भ्रमणमा आउने इराकीहरुका लागि प्रवेशाज्ञा प्रक्रिया खुकुलो बनाउन आग्रह गरेका थिए ।