काठमाडौँ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले तेस्रो दिनको खेल सकिद थप ८ स्वर्ण जितेर कुल २३ स्वर्ण पदक जितेको छ । सोमबार एकै दिन १५ वटा स्वर्ण जितेको नेपालले मंगलबार भएको खेलमा ८ स्वर्ण जितेको हो । नेपालले मंगलबार उसु, कराँते र तेक्वान्दोमा २(२ स्वर्ण जितेको छ छ भने एथलेटिक्स र ट्रायथलनमा एक एक स्वर्ण जितेको हो । त्यस्तै महिला भलिबलमा स्वर्ण पदकको नजिक पुगेर पनि नेपाल ३(२ को सेटमा पराजित हुदै रजतमा चित्त बुझाएको छ ।
उसु खेलमा विजय सिञ्जाली र सुस्मिता तामाङले थाउलोतर्फ स्वर्ण जिते भने तेक्वान्दोमा काजल श्रेष्ठ र वीरबहादुर महरा तथा कराँतेमा नविन रसाइली र सनिता महर्जनले नेपाललाई स्वर्ण पदक जिताए । त्यस्तै एथ्लेटिक्समा नेपालले मंगलबार कीर्तिमानी स्वर्ण पदक जित्यो । सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा भारतीय खेलाडीलाई एक मिलिसेकेण्डले पछि पार्दै स्वर्ण जितेर सागमा महिलातर्फ एथ्लेटिक्समा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन् ।
मंगलबार नेपालले ट्रायथलनमा एक स्वर्ण र दुई रजत जित्यो । पोखरामा भएको ट्रायथलन अन्तर्गत दुवाथलनमा नेपालका हिमाल टमाटाले स्वर्ण जिते भने लक्ष्मण मल्लले रजत जितेका हुन् । त्यस्तै महिलातर्फ नेपालकी हुमी बुढा मगरले रजत जितिन् । नेपालले अहिलेसम्म कराँतेतर्फ ९ स्वर्ण पदक जितेको छ भने तेक्वान्दोतर्फ ९ स्वर्ण पदक जितेको छ । त्यस्तै नेपालले उसुतर्फ २, पोखरामा भएको ट्रायथलन २ स्वर्ण र एथलेटिक्समा एक स्वर्ण जितेको छ ।
सोमबार नेपालले कराँते र तेक्वान्दोमा ७–७ र ट्रायथोलनमा एक गरी १५ स्वर्ण जितेको थियो । योसंगै अहिलेसम्म नेपालको स्वर्ण पदक संख्या २३ पुगेको छ । त्यस्तै रजत पदक संख्या ९ र काश्य पदक १२ गरि कुल ४४ पटक जितेर शिर्ष स्थानमा रहेको छ । त्यस्तै भारतले १५ स्वर्ण १६ रजत र ९ काश्य गरि कुल ४० पदक जितेको छ । त्यस्तै श्रीलंकाले ५ स्वर्ण, १४ रजत र २७ काश्यसहित ४६ पदक जितेको छ । त्यस्तै पाकिस्तानले ४ स्वर्ण ११ रजत र १० कास्य पदक जितेको छ भने बंगलादेशले ४ स्वर्ण, ३ रजत र २१ काश्य पदक जितेको छ । त्यस्तै माल्दिभ्सले साग खेलको इतिहासमा नै पहिलो पटक सय मित्र दौडमा स्वर्ण पटक जितेर इतिहास बनाएको छ । त्यस्तै भुटानले अहिलेसम्म ३ काश्य पदक जितेको छ ।