आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रपति भण्डारीद्वारा १३औं सागको समुद्घाटन

आइतबार, मंसिर १५ २०७६

उद्घाटनमा राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा, उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, पुर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहभागी भएका छन् । सागमा सहभागी सातै देशका खेलाडी र खेल पदाधिकारी मार्चपासमा सहभागी भएका थिए । मार्चपासमा नेपालको झण्डा भारत्तोलनका किर्तिमानी राष्ट्रिय खेलाडी कमल अधिकारीले बोकेका थिए ।

सागको उद्घाटनमा झाँकी निकालिएको थियो । सन् १९८४ मा पहिलो साग गरेको नेपालले तेस्रोपटक प्रतियोगिता गर्न लागेको हो । दशरथ रङ्गशालामा सागको उद्घाटन भएपनि पोखरा र जनकपुरमा पनि खेलहरु शुरु भएका छन् । सागमा नेपालको प्रदर्शनमा उतारचढाव रहनसक्छ । सन् १९९९ मा काठमाडौंमा भएको साग खेलकुदमा नेपालले सबैभन्दा बढी पदक जित्दै दोस्रो स्थान हासिल गरेको थियो । पहिलो सागमा नेपालले चौंथो स्थान हासिल गरेको थियो ।

१३औ सागअन्तर्गत काठमाडौँको १२, ललितपुरको नौ, पोखराको आठ तथा जनकपुरको एक स्थानमा खेल हुदै छन् । यसपटक सागमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको छ । खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाडी सहभागी हुने बताइएको छ । सागका नौ खेल पोखरा, एक खेल जनकपुर र बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन् । नेपालले सबै खेलमा सहभागिता जनाउने छ ।

खेलमा आयोजक प्रतिनिधि, निर्णायक मण्डल, अतिथिसहित दुई हजार २०९ जना तथा स्वयंसेवक करीब दुई हजार खटिनेछन् । सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । खेलमा नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, माल्दिभ्स र भुटान सहभागी छ । साग कै लागि विभिन्न सडक क्षेत्र कालोपत्रे गरिएको छ भने खाल्डाखुल्डी पुरिएको छ । खेल हुने स्थान पुनःनिर्माण गरेर रङ्रोगन तथा झण्डा फहराएर चिटिक्क पारिएको छ । सडकका विभिन्न क्षेत्रमा सागसँग सम्बन्धित तुल र ब्यानर राखिएको छ । सागको मस्कट कृष्णसारको आकृतिमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार