शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

स्वर्ण जित्ने लक्ष्यमा नेपाली महिला भलिबल टीम

आइतबार, मंसिर १५ २०७६

काठमाडौं(जस)–नेपाली महिला भलिबल टोलीको प्रदर्शन पछिल्लो समय शानदार बनिरहेको छ । भर्खर बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबलको उपाधि चुमेर स्वदेश फर्किएको महिला टोली अहिले १३ औँ सागको ऐतिहासिक स्वर्णको सम्मुखमा छ । नेपालले साग महिला भलिबलको रजत पदक कम्तीमा पक्का गरिसकेको छ । रजतनै नेपालका लागि ऐतिहासिक पदक हो । यद्यपी नेपाली टोली त्योभन्दा ठूलो ऐतिहासिक स्वर्णको नजिक छ । नेपाली महिला भलिबल टोलीले सागमा यसअघि तीन पटक काँस्य जितेको थियो । नेपाली महिला भलिबल टोलीले सन् १९९९, सन् २००६ र सन् २०१६ को सागमा काँस्य जितेको थियो । सेमिफाइनलमा श्रीलंकालाई ३–० सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको छ ।

नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले नेपालको एउटै लक्ष्य उपाधि भएको बताए । फाइनलमा नेपालले परिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । समूह चरणमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । भारतले सेमिफाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएर नेपालसँगको उपाधि भीडन्त पक्का गरेको हो । फाइनलमा नेपालका लागि भारतसँग समूह चरणमा खेपेको हारको बदला लिने राम्रो मौका समेत मिलेको छ । मङ्गलबार हुने फाइनल खेलमा नेपालले पुरानो गल्तीलाई सच्याउने पनि प्रशिक्षक भट्टले बताएका छन् ।

‘हाम्रो एउटै लक्ष्य स्वर्ण हो । हामीले पहिलेदेखि स्वर्ण जित्छौँ भन्दै आएका छौँ । अब अझै दुई दिन बाँकी छ । अघिल्ला खेलको कमजोरीलाई सुधार गर्दै भारतसँग स्वर्णका लागि भिड्ने छौँ । श्रीलङ्कासँगको जीतले खेलाडीको मनोबल झनै उच्च भएको छ । दर्शकको समर्थन हाम्रा लागि अर्को फाइदा हुनेछ,’ प्रशिक्षक भट्टले भने । नेपाली टोलीकी कप्तान अरुणा शाहीले पनि घरेलु भूमिमा भारतलाई हराएर स्वर्ण जितेर छाड्ने दावी गरिन् । ‘हामी भारतसँग उच्च मनोबलका साथ खेल्नेछौँ । समूह चरणमा हामीले सानो गल्तीले हार खेपेका थियौँ । फाइनलमा पुगेर इतिहास रचेका छौं । तर हाम्रो लक्ष्य स्वर्ण नै जित्ने हो । त्यसका लागि हामीले लामो तयारी र धेरै मिहेनत गरेका छौँ,’ अरुणाले भनिन् । नेपालको पुरुष भलिबल टोली भने यसअघिनै समूह चरणबाट बाहिरिएको छ ।

पुरुष भलिबलमा भारत र पाकिस्तान फाइनलमा
भारत र पाकिस्तान १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पुरुष भलिबलको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको सेमिफाइनलमा भारतले श्रीलंकालाई ३–१ को सेटमा हरायो । रोचक खेलमा भारतले श्रीलंकालाई २७–२५, २५–१९, २१–२५, २५–२१ ले स्तब्ध बनायो । यसैगरी अर्को सेमिफाइनलमा पाकिस्तानले बंगलादेशलाई ३–० सोझो सेटमा हरायो पाकिस्तानले बंगलादेशमाथि २५–१५, २५–२१, २६–२४ को जित निकालेको थियो । स्वर्णका लागि मंगलबार चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्नेछन् । महिलातर्फ भने भारत र नेपालबीच फाइनल भिडन्त हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार