शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

फिल्म ‘नालापानी’ सेनाको मुख्यालयमा

बिहिबार, मंसिर १२ २०७६

काठमाडौं(जस)–ऐतिहासिक बिषयमा बनेको फिल्म ‘नालापानी’ सेनाले हेरेको छ । निर्माण युनिटले नेपाली सेनाको मुख्यालयमा फिल्मको पहिलो प्रदर्शन गरेको हो । सो अवसरमा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पुरै फिल्म हेरेका छन् । फिल्म हेरेपछि प्रधान सेनापति थापाले फिल्म हेर्दा आफु सन् १८१४ सालतिर पुगेको महशुस भएको बताए । थापाले फिल्म ‘नालापानी’ ले नेपालको रक्षाको लागि पुर्खाले गरेको योगदान पुनः ताजा गरिदिने धारणा राखे ।
‘हामीले आफ्नो इतिहासलाई बिस्यौँ भने हामीले हाम्रो राष्ट्रलाई पनि बिर्सन्छौँ’ थापाले भने ‘युद्द जित्नलाई हतियारले सहयोग गर्छ । तर युद्द जित्न बिना रणनीति हतियारले मात्र केही काम गर्दैन भनेर फिल्मले सन्देश दिन्छ ।’ फिल्म ‘नालापानी’ ले नेपाली सेनामा वीररस थप्ने विश्वास थापाको रहेको छ । विशेष शोमा राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारी तथा राष्ट्रपति सचिवालयका सदस्यहरु एवं ३०० जना बढि नेपाली सेनाका अधिकारीहरुको सहभगिता रहेको थियो । भिएफएक्सको अधिक प्रयोग भएको ‘नालापानी’ सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको छ ।
प्रा.डा.धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानी’ रिमेश अधिकारीले निर्देशन गरेका हुन् । फिल्ममा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युग जंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी अधिकारी, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरु एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र साम लगायतको अभिनय रहेको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सन प्रा.लिको प्रस्तुति रहेको फिल्म निर्माणमा बिजिबि इन्टरटेन्मेन्ट र गंगानारायण फिल्मस्को समेत सहकार्य छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, रामशरण उप्रेतीको छायाँकन, विपिन मल्लको सम्पादन रहेको छ । सहनिर्माता पुजना प्रधान र गणेश कार्की रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार