अर्घाखाँची(जस)–अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । सन्धिखर्कबाट बुटवलका लागि दिउँसो १ः३० बजे छुटेकोे लु२ख २१४८ नंको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो ।
यो समाचार तयार पार्दासम्म दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ११ पुरुष र सात महिला रहेको सहायक प्रजिअ बेल्वासेले बताए । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले बताए ।
बस छुटेको १ घण्टामा दुर्घटना भएको हो । सन्धिखर्कबाट बस छुट्दा नौ जना यात्रुले मात्रै टिकट काटेका थिए । बाँकी यात्रु घुम्तीबाट बसमा चढेको बताइएको छ । प्रहरीका अनुसार घाइते ११ जनालाई बुटवल र ३ जनालाई सन्धिखर्क उपचारका लागि लगिएको छ । बस दुर्घटनाको कारण अहिलेसम्म यकिन हुन सकेको छैन । बसका चालक र सहचालकको अवस्थासमेत पत्ता नलागेको प्रहरीले जनाएको छ ।
हुम्लामा टिप्पर दुर्घटना हुँदा चारको मृत्यु
यसैगरी हुम्लाको सिमकोट गाउँपालिका–७ नाग्मामा टिप्पर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । खाद्य संस्थानको चामल बोकेर सल्लीखोलाबाट सदरमुकामा सिमकोट जाँदै गरेको लु ४ ख ३२६९ नम्बरको टिप्पर नाग्मामा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हुम्लाका डीएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए । ज्यान गुमाउनेमा नाम्खा गाउँपालिका–१ हेक्पाका नरी लामा, छिरिङ तार्मा लामा र नाम नखुलेका हिल्सा सडक आयोजनामा काम गर्ने कार्यालय सहयोगीको ज्यान गएको हो ।
घाइते १२ जनाको जिल्ला अस्पताल सिमकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा सिमकोट गाउँपालिका वडा नम्बर ६ पावाडागाउँका सन्देश सुनार अकिल रोकाया, रामकुमार रोकाया, वक्त रोकाया, खगेन्द्र रावत, सन्त सुनार, कमल रोकाया, नाम्खा गाउँपालिकाका नुटुप लामा, सुन्दर तामाङ, नामगेल लामा, खार्पुनाथ गाउँपालिका ५ का धनसिं भण्डारी र सर्केगाढ गाउँपालिका २ का अंग फडेरा छन् । दुर्घटनाको कारण भने खुलेको छैन ।