काठमाडौं (एजेन्सी)– अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालाले फ्रिकिक मार्फत निर्णायक गोल गरेपछि इटालियन महारथी युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलका स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमाथि कठिन जित निकालेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सले एट्लेटिकोलाई १–० गोलले हरायो । युभेन्ट्सको जितमा डिबाला नायक बने । डिबालाले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । डिबालाको सोही गोलनै निर्णायक बनेको थियो ।
दोस्रो हाफमा दुवै टोलीले लगातार गोलको अवसर बनाएपनि सफल हुन सकेन । जितसँगै युभेन्ट्स समूह ‘डी’ बाट नकआउट चरणमा पुगेको छ । शीर्ष स्थानमा रहेको युभेन्टसको पाँच खेलबाट १३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्यड्रिडको सात अंक छ । यही समूहको अर्काे खेलमा जर्मन क्लब बायर लिभरकुसेनले लोकोमोटिभ मोस्कोलाई २–० गोलले पराजित गरेको छ । जितसँगै ६ अंक बनाएको लिभरकुसेन तेस्रो स्थानमा छ । तीन अंक बनाएको लोकोमोटिभ अन्तिममा छ ।
म्यानचेस्टर सिटी नकआउट चरणमा
इङ्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कसँग १–१ गोलको बराबरी खेल्दै सिटी नकआउट चरणमा पुगेको हो । जितसँगै समूह ‘सी’ मा रहेको सिटीले पाँच खेलबाटर ११ अङ्क बनाएको छ । समूहको शीर्ष स्थानमा रहेको सिटीले एक खेल अगावै नकआउट चरणमा स्थान बनायो । यस समूहमा अन्य तीन टोली साख्तर, डाइनामो जाग्रिव र एटलान्टाको पनि नकआउट चरण पुग्ने सम्भावना जीवित छ । समूहको दोस्रो स्थानमा रहेको साख्तरले ६ अङ्क बनाएको छ । डाइनामोको पाँच अंक सहित तेस्रो र चार अंक बनाएको एटलान्टा पाँचौ स्थानमा छ । समूह चरणको अन्तिम खेलले नै नकआउट पुग्ने अर्काे टोलीको निर्धारण गर्नेछ । सिटी र साख्तरबीचका प्रतिस्पर्धातमक खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
सिटीले ५६औं मिनेटमा अग्रता लियो । सिटीका इकेए गुन्डोगानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६९औँ मिनेटमा साख्तरका मनोर सोलोमोनले बराबरी गोल फर्काए । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको थियो । यही समूहको अर्काे खेलमा इटालियन क्लब एटलान्टाले क्रोएसियन क्लब डाइनामो जाग्रिवलाई २–० गोलले हरायो । जितसँगै एटलान्टाले नकआउट चरण पुग्ने आशा जगायो ।
टोटनह्यामको पुनरागमनमा केनको किर्तिमान
टोटनह्याम हटस्पर्सले दुई गोलले पछि परेको स्थिति उल्टाउँदै ओलम्पियाकोसविरुद्ध ४–२ को जीत हासिल पार्न सफल भएको छ । जीतसँगै टोटनह्याम च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । नयाँ म्यानेजर जोसे मोरिन्होको नेतृत्वमा उत्रेको स्पर्स खेलको १९ औँ मिनेटमा नै दुई गोलले पछि परेको थियो । छैटौँ मिनेटमा युसेफ एल अरबीले ओलम्पियाकोसलाई अग्रता दिलाए भने रुबेन सेमेडोले १३ मिनेटपछि अग्रता दोब्बर बनाए । लगत्तै, मोरिन्होले एरिक डायरको स्थानमा क्रिस्टियन एरिक्सन पठाए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा डेलीले स्पर्सका लागि एक गोल फर्काए ।
दोस्रो हाफमा भने स्पर्सले सुधारिएको प्रदर्शन गर्यो । ह्यारी केनले खेलको ५० औँ मिनेटमा बराबरी गोल फर्काए । स्पर्सको तेस्रो गोलमा बल ब्वाई नायक बने । निकै चालाख बल ब्वाईको मद्दतले स्पर्सले थ्रो इनमा ओलम्पियाकोसलाई झुक्याउन सफल भयो । निकै चाँडो थ्रो गरेर सर्जी अउरियरले डेली अलीको क्रममा गोल गर्दै स्पर्सलाई अग्रता दिलाए । ४ मिनेटपछि ह्यारी केनले दोस्रो गोल गर्दै स्पर्सको जीत सुनिश्चित गरे । योसँगै ह्यारी केन च्याम्पियन्स लिगमा सबैभन्दा चाँडो २० गोल गर्ने खेलाडी बनेका छन् । उनले २४ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यसअघि अलेसान्ड्रो डेल पिएरोले २६ खेलमा यो कोशेढुङ्गा पार गरेका थिए । समूह बीमा ५ खेलबाट १० अङ्क बटुल्दै टोटनह्याम समूह उपविजेता बनेको छ ।
पीएसजीसँग रोकियो रियल
स्पेनिस महारथी रियल म्याड्रिड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबीच मङ्गलबार राति भएको च्याम्पियन्स लिग अन्तरगतको रोमाञ्चक खेल २–२ गोलको बराबरीमा सकिएको छ । २–० गोलले पछि परेको पीएसजीले ३ मिनेटको अन्तरालमा दुई गोल गर्दै पुनरागमन गर्न सफल भएको हो । खेलको १७ औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाए । खेलको दोस्रो हाफको ७९ औँ मिनेटमा गोल गर्दै बेन्जेमाले रियलको अग्रता दोब्बर बनाए । तर, लगत्तै डिफेन्सको गल्तीको फाइदा उठाउँदै काइलियान एम्बाप्पेले पीएसजीका लागि गोल फर्काए । त्यसको दुई मिनेटपछि पाबलो साराबियाले बराबरी गोल फर्काए ।
खेलमा चोटग्रस्त हुँदै एडिन हजार्ड बाहिरिएपछि मैदान प्रवेश गरेका गेराथ बेलले इन्जुरी समयमा फ्रिकिकमार्फत रियललाई जीत दिलाउने मौका पाएका थिए । तर, उनको प्रहार पोष्टमा लाग्न पुगेको थियो । गत मार्चमा म्यानेजरका रुपमा जिनेदिन जिदान फर्किएपछि रियलको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन थियो । पीएसजीका गोलकिपर केयलर नाभासले रियलका १० वटा प्रहारलाई रोकेका थिए । खेलमा केही विवादास्पद निर्णयसमेत भएको थियो । रियलका गोलकिपर थियाबट कोर्टवाले रातोकार्ड पाए पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उक्त निर्णयलाई उल्टाएका थिए ।समूह ए कै अन्य खेलमा क्लब ब्रगस र गलातासारेले १–१ को बराबरी खेलेपछि पीएसजी र रियल दुवै क्रमशः समूह विजेता र उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका छन् ।