काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बुधबारदेखि शुरु भएको भलिबल खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ । सागको औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुने भए पनि महिला र पुरुष भलिबल खेल भने आजदेखि नै शुरु भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिष्द (राखेप) को कभर्डहलमा बुधबार भएको उद्घाटन खेलमा राष्ट्रिय महिला भलिबल टोलीले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । सागमा स्वर्णपदक भित्र्याउने लक्ष्य लिएको नेपाली महिला भलिबल टोलीले पहिलो सेट २५–९ ले जित्यो भने दोस्रो सेट पनि समान २५–९ ले आफ्नो पक्षमा पा¥यो । त्यसैगरी तेस्रो तथा अन्तिम सेटमा नेपालले बङ्गलादेशमाथि २५–११ ले आफ्नो पक्षमा पार्यो । सागमा महिला भलिबल टोलीको यो चौथो सहभागिता हो । सन् १९९९ मा नेपालले घरेलु मैदानमा दोस्रो पटक आयोजना गरेको आठौँ दक्षिण एशियाली खेलकूद (साग)मा पहिलो पटक सहभागिता जनाएको थियो । त्यतिबेला काठमाडौँमा भएको खेलमा नेपालले कास्य पदक हात पारेको थियो । त्यस्तै सन् २००६ मा श्रीलङ्काको कोलम्बोमा भएको दशौँ सागमा दोस्रो तथा सन् २०१४ मा भारतमा भएको १२औं सागमा तेस्रो पटक सहभागिता जनायो । दशौँ र बाह्रौँ सागमा नेपालले कास्य पदक जितेको थियो । दक्षिण एशियामै सधँै तेस्रो बन्ने महिला भलिबल टोलीले यसपटकको सागमा भने नयाँ इतिहास कायम गर्ने लक्ष्य लिएको छ ।
भलिबलमा स्वर्ण जित्ने नेपालको लक्ष्य
तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) को औपचारिक उद्घाटनको चार दिन अगाडि नै भलिबल खेल शुरु भएको छ । औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुनेछ तर महिला र पुरुष भलिबल खेल भने बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा भएकाृे हो । सागमा महिला भलिबको इतिहास खासै लामो छैन । सागमा तीन पटक सहभागिता जनाएको महिला भलिबल टोलीले रित्तो हात फर्कनु परेको छ्रैन । महिला भलिबल टोलीले सन् १९८७ मा औपचारिक रुपमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न शुरु गरेको थियो । सन् १९९९ मा नेपालले घरेलु मैदानमा दोस्रो पटक आयोजना गरेको आठौँ सागदेखि महिला भलिबलले सहभागिता जनाउन थालेको हो । त्यतिबेला काठमाडौँमा भएको खेलमा नेपालले कास्य पदक हात पारेको थियो ।
सन् २००६ मा श्रीलङ्काको कोलम्बोमा भएको दशौँ सागमा महिला भलिबल टोलीले दोस्रो पटक सहभागिता जनायो । त्यतिबेला पनि नेपालले कास्यपदक नै पायो । त्यसपछि नेपालले सन् २०१४ मा भारतमा भएको १२आँै सागमा तेस्रो पटक सहभागिता जनायो । १२औँ सागमा नेपालले कास्य पदक नै प्राप्त गरेको थियो । तर गत कात्तिक महिनामा बङ्गलादेशमा भएको प्रथम एभिसी सेन्ट्रल जोनमा पहिलो पटक ऐतिहासिक सफलता हासिल हासिल ग¥यो । नेपाली महिला टोलीले ‘सेन्ट्रल जोन’मा माल्दिभ्सलाई ३–० को सोभो सेटमा पराजित गर्दै भलिबलको इतिहासमा पहिलो पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्न सफल भयो । दक्षिण एशियामै सधैँ तेस्रो बन्ने महिला भलिबल टोलीलाई यसपटकको सागमा नयाँ इतिहास कायम गर्ने मौका छ । यसपटकको सागमा पहिलेको भन्दा राम्रो पदर्शन गर्ने धेरैले अपेक्षासमेत गरेका छन् ।
नेपाली महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोनमा पाएको सफलताले पनि खेलाडीमा आत्मबल बढेको भन्दै प्रतियोगितामा उत्कृष्ट नजिता ल्याउने विश्वास व्यक्त गरे । घरेलु मैदानको फाइदा उठाउँदै उत्कृष्ट प्रदर्शन गर्ने हाम्रो योजना छ,’ प्रशिक्षक भट्टले रासससँग भने । नेपालको मुख्य चुनौती भनेको भारत र श्रीलङ्का हो ।
यता राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले आफ्नो टोलीको लक्ष्य स्वर्ण पदक जित्नु रहेको बताउँछिन् । सागमाा नेपाल समूह एमा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् । नेपालभन्दा बङ्गलादेश कमजोर मानिएको छ । सोही कमजोरीको फाइदा उठाउँदै नेपाली महिला टोलीले उद्घाटन खेलमा बङ्गलादेशलाई हराएर प्रतियोगितामा सुखद शुरुवात गरेको छ । नेपाली महिला भलिबल टोलीमा कप्तान अरुणा शाहीसहित जानकी भण्डारी, प्रतिभा माली, सरस्वती चौधरी, रेश्मा भण्डारी, सलिना श्रेष्ठ, निरुता ठगुन्ना, सोफिया पुन, उषा विष्ट, सुनिता खड्का, कमला पुन र पुनम चन्द रहेका छन् ।