सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एनआरएनए र विभागबीच भेटवार्ता, एनआरएनएसँग सहकार्य गर्न विभाग तयार : महानिर्देशक भुषाल

कामदारलाई प्रत्यक्ष असर पर्ने कानुन ल्याउदा एनआरएनएसँग छलफल गरेर मात्र ल्याउ : एनआरएनए सचिव आरके शर्मा

मंगलबार, मंसिर १० २०७६

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगार विभागका महानिर्देशक डा भीष्मकुमार भुषालसँग भेटवार्ता गरेका छन् । सो भेटमा वैदेशिक रोजगारीलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउनका लागि एनआरएनएसँग सहकार्य गर्न विभाग तयार रहेको महानिर्देशक भुषालले बताए । संघका पदाधिकारीहरु र विभागका बीच वैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्या समाधानमा साझेदारी गर्ने बिषयमा भएको छलफलमा महानिर्देशकले संघसँग सहकार्य गरेर काम गर्ने इच्छा व्यक्त गरेका हुन् ।

संघमा आवद्ध कन्ट्री च्याप्टरका कतिपय पदाधिकारी तथा सदस्यहरुले भिजिट भिषामा नेपालीहरुलाई लगेर काममा लगाउने एजेन्टको काम गरेको, मेनपावर व्यवसायीको प्रतिनिधि भै काम गरेको जस्ता गुनासाहरु प्रति महानिर्देशक भुषालले संघको ध्यानाकर्षण गराएका थिए । त्यसैगरी भुषालले हालै विभागले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुलाई एउटा पेशा र कम्पनी भनी श्रम स्वीकृति प्राप्त गरि गन्तव्य मुलुकमा गैसकेपछि अर्कै पेशा र कम्पनीमा काम काम गर्नुपरेको अवस्थालाई निरुत्साहित गर्न त्यस्तो परिवर्तन भएको अवस्थामा सम्बन्धित रोजगारदाताले श्रमिकको कानूनी अधिकार सुनिश्चित गर्दै परिवर्तित पेशा बमोजिमको करार तथा भिषाको म्याद थप गर्दा वास्तविक पेशा झल्कने अवस्था सुनिश्चित गर्न गराउन गरिएको पत्राचारको मर्म बुझी गन्तब्य मुलुकका कम्पनीहरुलाई नेपाली कामदारको हक अधिकार सुनिश्चित गर्न संघको तर्फबाट भूमिका खेल्न अनुरोध गरे । संघले उठाएका कानूनसम्मत बिषयबस्तुहरुमा विभाग सहकार्य गर्न तयार रहेको उनले बताए ।

साथै उनले वैदेशिक रोजगारीमा गएका कामदारहरुको हकहितका र अप्ठयारोमा परेका नेपालीहरुको राहत र उद्धारमा संघले पुर्याएको योगदानको प्रशंसा गरेका छन् । उक्त अन्तर्क्रियामा संघले वैदेशिक रोजगार राहत कोष खडा गरी रकम संकलन गरिरहेको तर उक्त कोषमा रकम न्यून भएकोले विप्रेषण सेवा प्रदायकले पाउने सेवा शुल्कको निश्चित हिस्सा उक्त कोषमा जाने व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिएका छन् ।
उक्त भेटघाटमा एनआरएनएका केन्द्रीय सचिव आरके शर्माले वैदेशिक रोजगारीमा रहेका कामदारहरुको स्वास्थ्य, कार्यसुरक्षा र आफु रहेको देशको संस्कृति तथा कानुनसम्बन्धीका जनचेतनाका कार्यक्रमहरु तीव्र रुपमा अगाडि बढाउनुपर्ने आग्रह गरे । शर्माले विदेशमा जेल जीवन विताईरहेका नेपालीहरुकोलागि वकिलको व्यवस्था गर्न पनि माग गरे । भुषलले विगत एक वर्षदेखि नै वकिलको लागि परिपत्र जारी गरिसकेको बताए । शर्माले रोजगारीमा जाँदै गर्दा कार्यक्षेत्र र दुर्घटनालाई मात्रै समेट्ने गरी हाल विमा हुने गरेकोमा प्राकृतिक मृत्युलाई पनि विमामा समेट्नुपर्ने बताए । उनले रि–ईन्ट्री श्रम स्वीकृतिको लागि पेशा परिवर्तन गर्ने कुरामा यहाँ देखिएजस्तो सहज कम्पनी लेवलबाट नहुने भएकाले सरकारी तबरबाटै वार्ता गरेर समस्या समाधान गर्न माग गरे । उनले उक्त समस्या समाधान नहुँदासम्म पुरानै व्यवस्था लागु गर्नसमेत माग गरे । शर्माले कामदारलाई प्रत्यक्ष असर पर्ने कानुन ल्याउदा एनआरएनएसँग छलफल गरेर मात्र ल्याउन समेत आग्रह गरे ।
प्राकृतिक कारणले मृत्यू भएका नेपाली कामदारहरुको लागि बिमाको व्यवस्था हुनुपर्ने संघले सुझाव दिएको छ । वैदेशिक रोजगारीका क्रममा हुने गरेको मृत्यूदरलाई घटाउन थप जनचेतनाका कार्यक्रमहरु र श्रव्यदृश्य सहितको प्रभावकारी अनुशिक्षणको व्यवस्था गर्नुपर्ने तथा कानूनी प्रतिरक्षाका लागि कूटनैतिक नियोगले निशुल्क र निरन्तर कानूनी सेवा उपलब्ध गराउनु पर्ने लगायतका सुझाव संघले दिएको छ ।

उक्त छलफलमा विभागका तर्फबाट महानिर्देशक भुषाल, निर्देशकहरु हरिप्रसाद ज्ञवाली र भोलानाथ गुरागाई सहभागी रहेका थिए भने संघका तर्फबाट अध्यक्ष कुमार पन्त, उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, सचिव आरके शर्मा, प्रवक्ता डिबि क्षेत्री, मध्यपूर्व युवा संयाेजक राजु रेग्मी, र सदस्यहरु कपिलदेव थापा, ललित न्यौपाने, शनि कुमार ओली, धर्मराज गिरी लगायतकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार