काठमाडौं(जस)–हिमालय एयरलाइन्सले नेपाल–चीन संयुक्त अन्तर्राष्ट्रिय वायुसेवा उद्यम, काठमाडौं र गुइयाङ जोड्ने नयाँ सेवा शुरु गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को संघारमा नेपाल भ्रमणमा आउने सम्भावित पर्यटकलाई प्रवद्र्धन र ध्यानाकर्षण गराउने उद्देश्यले उक्त उडान शुरु भएको हो । प्रत्येक वर्ष धेरैभन्दा धेरै पर्यटकलाई आकर्षण गर्ने सहर गुइयाङ चीनको प्रमुख पर्यटकीय शहर हो । हिमालय एअरलाइन्स प्रत्येक मंगलबार काठमाडौंबाट गुइयाङका लागि उडान भर्नेछ र सोहि दिन फर्कनेछ हिमालय एयरलाइन्स यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स हो ।
नयाँ सेवा विस्तारसँगै नेपालीहरुले चीनमा नयाँ गन्तव्य स्थलका निम्ति सरल, मितव्ययी र सिधा सञ्जालको सुविधा पाउन सक्नेछन् । उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलबाट मङ्सिर ३ गते स्थानीय समय १०ः२५ मा गुइयाङ्का लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको गुइयाङ् लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १५ः५८ मा अवतरण गरेको छ । आवागमन उडान गुइयाङ्को लोङडोङबाओ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः०८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १९ः३६ मा अवतरण गरेको छ ।