शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

यूरो कप छनौट : जर्मनी र नेदरल्यान्डको फराकिलो जित

बुधबार, मंसिर ४ २०७६

काठमाडौं (एजेन्सी)–यूरोकपमा यसअघिनै स्थान बनाएका जर्मनी र नेदरल्यान्डले समूह चरणको अन्तिम खेलमा फराकिलो जित निकालेका छन् । समूह ‘सी’ अन्तर्गत मंगलबार राति भएको खेलमा जर्मनीले नर्दन आयरल्यान्डलाई ६–१ गोलले हरायो । जर्मनीको फराकिलो जितमा सर्ज जनाब्रीले ह्याट्रिक गरे । १९औं मिनेटमा खाता खोलेका सर्जीले ४७औं र ६०औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । लियोन गोरेट्ज्काले ४३औं र ७३औं मिनेटमा दुई तथा जुलियन ब्रान्डले खेलको अन्तिममा एक गोल थपेका थिए । नर्दन आयरल्यान्डका माइकल स्मिथले खेलको सातौं मिनेटमै सुरुवाती गोल गरेका थिए । जितसँगै समूहको शीर्ष स्थानमा रहेको जर्मनीले आठ खेलबाट २१ अंक बनायो ।
यही समूहको अर्को खेलमा नेदरल्यान्डले इस्टोनियालाई ५–० गोलले पराजित गर्यो । घरेलु मैदानमा नेदरल्यान्डलाई जिताउन जर्जिन्हो विज्नाल्डमले ह्याट्रिक गरे । उनले छैटौं, ६६औं र ७८औं मिनेटमा गोल गरेका थिए । नाथन इकेले १९औं र माइरन बोअदुले ८७औं मिनेटमा एक एक गोल थपे । जितसँगै समूहको दोस्रो स्थानमा रहेको नेदरल्यान्डले आठ खेलबाट १९ अंक बनायो ।
यसैगरी समूह ‘जी’ पोल्यान्डले अन्तिम खेलमा सुखद नतिजा निकाल्दै युरोकप छनोटको सुखद अन्य गरेको छ । यसअघिनै युरोकपमा छनोट भइसकेको पोल्यान्डले मंगलबार राति स्लोभेनियालाई ३–२ गोलले हरायो । अर्को खेलमा अष्ट्रिया लात्भियासँग १–० गोलले पराजित भयो । यद्यपी अष्ट्रियाले पनि यसअघिनै छनोट यात्रा तय गरिसकेको छ । यस समूहको शीर्ष स्थानमा रहेको पोल्यान्डले १० खेलबाट २५ अंक बनायो । दोस्रो स्थानमा रहेको अष्ट्रियाले १९ अंक बनायो । यही समूहको अर्को खेलमा नर्थ मासेडोनियाले इजरायललाई १–० गोलले पराजित गरेको छ ।

बेल्जियमको गोल वर्षा
सन् २०२० को युरोकपमा स्थान बनाइसकेको बेल्जियमले समूह चरणको अन्तिम खेलमा साइप्रसमाथि गोल वर्षा गरेको छ । घरेलु मैदानमा मङ्गलबार राति भएको खेलमा बेल्जियमले साइप्रसलाई ६–१ गोलले हरायो । बेल्जियमको जितमा क्रिस्टियन बेन्टेकेले १६ औँ र ६८ औँ तथा केभिन डि ब्रुयनले ३६ औँ र ४१ औँ मिनेटमा दुई दुई गोल गरे । यानिक कारास्कोले ४४ औँ मिनेटमा एक गोल गरेका थिए । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो । साइप्रसका निकोलस नोलयले १४ औँ मिनेटमा गोल गरेका थिए । युरोकप छनोटको समूह ‘आई’ मा रहेको बेल्जियमले शतप्रतिशत जित निकाल्दै छनोट यात्रा तय गरेको हो ।
जितसँगै बेल्जियमले १० खेलबाट ३० अंक बनायो । यस समूहबाट उपविजेता बन्दै रुसले पनि युरोकपमा स्थान बनाएको छ । मङ्गलबार राति भएको खेलमा रुसले सान मारिनोलाई ५–० गोलले हरायो । जितसँगै रुसले १० खेलबाद्ध २४ अङ्क बनायो । यही समूहको अर्को खेलमा स्कटल्यान्डले काजकस्तानलाई ३–१ गोलले हराउँदै युरोकप छनोटको सुखद् अन्य गर्यो ।
वेल्स युरोकपमा छनोट
एजेन्सी । निर्णायक खेलमा हङ्गेरीलाई २–० गोलले हराउँदै वेल्स सन् २०२० को युरोकप फुटबलमा छनोछ भएको छ । समूह ‘ई’ अन्तर्गत मङ्गलबार राति छनोटका लागि जित्नै पर्ने खेलमा वेल्सले बाजी मारेको हो । यदी हंगेरीले जितेको भए युरोकपमा हङ्गेरीले नै स्थान बनाउने थियो । वेल्सको जितमा दुवै गोल एरोन राम्सेले गरे । राम्सेले १५औं र ४७औं मिनेटमा गोल गरेका थिए । जितसँगै समूहको दोस्रो स्थानमा रहेको वेल्सले आठ खेलबाट १४ अंक बनाएको छ । यस समूहको विजेता बन्दै युरोकपमा छानिएको क्रोएसियाको १७ अंक छ । हारसँगै १२ अंक बनाएको हङ्गेरी तेस्रो स्थानमा सिमित बन्यो । यही समूहको मङ्गलबार रातिनै भएको अर्काे खेलमा स्लोभाकियाले अजरवैजानलाई २–० गोलले हरायो ।

प्रतिक्रिया
सम्बन्धित समाचार