काठमाडौं । सोमबार काठमाडौंको मिडिया इन्टरनेशनलको हलमा आयोजित पत्रकार सम्मेलनमा बिदुरमान श्रेष्ठ आँसुका ढिक्काहरुलाई दायाँ बायाँ हुत्याउँदै पत्रकारहरुका जवाफ दिइरहेका छन् । २०७४ साल फागुन २८ गते काठमाडौंमा भएको युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी स्व. एन्जिला श्रेष्ठका बुवा बिदुरमानले भाव विह्वल हुँदै भने- ‘न्याय पाइएला भनेर मुद्दामा गयौं, न्याय पाउने त कहाँ हाे कहाँ, धम्की पाे आउन थाल्यो!’
युएस बंगला जहाज दुर्घटनामा ज्यान गुमाएका सात जना विद्यार्थीका आफन्तलाई हवाई जहाज कम्पनीले वकिल लगाएर मुद्दा हराईदिने चेतावनी दिँदै मुद्दा फिर्ता लिन धम्की दिएपछि पीडित परिवारले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका हुन् । उनीहरुले न्यायको लडाई जारी रहेको र कसैसामू नझुक्ने भन्दै न्याय पाउने कुराको सुनिश्चित गर्न सर्वोच्च अदालत तथा नेपाल सरकार समक्ष माग गरेका छन् ।
करिब २० महिनाअघि भएको युएस बंगला जहाज दुर्घटनामा ज्यान गुमाउने मृतकका परिवारलाई बीमा रकम र क्षतिपूर्ति रकम नदिन अनेकन प्रयत्न गरिरहेको एयरलायन्स कम्पनीले पीडित परिवारलाई काठमाडौं जिल्ला अदालतमा चलिरहेको मुद्दा समेत खारेज गरिदिने धम्की दिएपछि पीडितहरु झनै पीडित बन्न पुगेका छन् । युएस बंगला एयरलाइन्स जहाज दुर्घटनामा ज्यान गुमाएका ७ जना पीडितहरुलाई कूल दुई अर्ब १० करोडभन्दा बढि क्षतिपूर्ति तिर्नुपर्ने एक्चुरियल भ्यालुएशनले सिफारिस गरिसकेको छ ।
सन् २०१८ मार्च २२ तारिखका दिन ढाकाबाट काठमाडौं आउँदै गरेको युएस बंगला एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणको क्रममा दुर्घटनाग्रस्त हुँदा सो जहाजमा सवार ५१ जनाको निधन भएको थियो । मृतक मध्ये २२ जना नेपाली थिए । मृतकका अन्य आफन्तलाई जहाज कम्पनीले केही पैसा दिएर थामथुम पारेपनि सात जना पीडितका आफन्तले भने अन्तर्राष्ट्रिय कानुन अनुसारको एक्चुरियल भ्यालुएशन अनुसारको क्षतिपूर्ति पाउनुपर्ने भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् । अन्तर्राष्ट्रिय महासन्धी अनुसार क्षतिपूर्ति दिनुपर्नेमा जम्मा २० हजार डलर मात्रै क्षतिपूर्ति दिएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार युएस बंगला एयरलाइन्सले प्रतियात्रु ५० हजार डलरको बीमा गरेर ढाका–काठमाडौं–ढाका हवाई सेवा सञ्चालन गरेको थियो । कम्पनीले यात्रु बीमा बापतको रकम समेत भुक्तानी गरेको छैन ।