काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई काम गर्न सहज बनाईदिनको लागि सचिवालयको सबै कर्मचारीलाई राजिनामा दिन निर्देशन दिएका छन् ।
स्वास्थ्य प्रतिकुल भएपछि ग्रान्डी अस्पतालमा २४ घण्टामा दुईपटक डायलासिस गरेर बालुवाटार फर्किएका प्रधानमन्त्री ओलीले फरक ढंगले काम अघि बढाउन चाहेका कारण सबै सल्लाहकारहरुलाई यस्तो निर्देशन दिएका हुन् ।
‘शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको छ’, स्रोतले भन्यो, ‘आवश्यक परे फेरि नियुक्त गर्न सक्ने, तर तत्कालका लागि राजीनामा दिएर काम गर्ने बाटो खोलिदिन निर्देशन दिनुभएको छ।’
सरकार र पार्टी भित्र शीर्ष नेताको असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्न चाहेका छन् । ओलीले केही समयअघि मन्त्रिपरिषद् हेरफेर हुने संकेतसमेत गरेका थिए ।
प्रधानमन्त्रीको निर्देशन पछि एक सल्लाहकारले प्रधानमन्त्रीको सजिलोका लागि सबैले राजीनामा दिने विषयमा कुरा भएको बताए। अहिले प्रधानमन्त्रीका सल्लाहकारमा मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार डा.कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अली रहेका छन् ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहकारको पार्टीभित्र र बाहिर चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले सबैलाई हटाउने निष्कर्षमा पुगेको बताइएको छ ।