सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

कामदारको भिसा र करारपत्रमा विभागको अनावश्यक कडाई : रोजगारी गुम्ने खतरा, कामदार र बिभिन्न संघसंस्थाद्वारा कडा बिरोध

शुक्रबार, कार्तिक २२ २०७६

काठमाडौं(जस)– कामदारको भिसा र करारपत्रमा विभागले अनावश्यक कडाई गरेको भन्दै विभिन्न संघसंस्थाले विरोध जनाएका छन् । वैदेशिक रोजगार विभागले रोजगारीमा जाने कामदारको भिसा र करारपत्रमा पेशा फरक परेको कारण पुनः श्रम स्वीकृति दिन समस्या भएको भन्दै एकरुपता ल्याउन शुरु गरेको कार्यप्रति वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरु र बिभिन्न संघ संस्थाहरुले बिरोध जनाएका हुन् । बैदेशिक रोजगार विभागले मंगलबार खाडी तथा मलेसियास्थित नेपाली दूतावासहरुलाई पत्र पठाउँदै नेपालबाट विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा जाने कामदारको भिसा र कम्पनीसँग भएको सम्झौतापत्र तथा विभागअन्तर्गतको काठमाडौं कार्यालयबाट जारी हुने श्रम स्वीकृतिमा पेशा लगायतका विषयमा एकरुपता नभएका कारण पुनः श्रम स्वीकृति दिन समस्या भएको बताउदै पेशाको प्रमाणपत्र लिएर मात्र नेपाल आउन एक सूचना जारी गरेको थियो ।
विभागको उक्त आग्रहप्रति प्रतिक्रिया जनाउँदै विगत लामोसमयदेखि विदेशमा कार्यरत कामदारहरु र बिदेशका संघ संस्थाहरुले विभागले अगाडि बढाएको कार्यको तीब्र बिरोध गर्दै तत्काल कार्यान्वयनमा नल्याउन माग गरेका छन् । विभागले तत्कालैदेखि विदेशमा गरेको कामको आधिकारीक प्रमाणपत्र खोज्ने शैलीले धेरै नेपालीले विदेशमा पाएको आकर्षक रोजगारी गुम्ने उनीहरुले बताएका छन् । नेपाली दूतावास कतारबाट सम्प्रेषण गरिएको सुचनाप्रति श्रमिक बर्गहरुले गरेको जनगुनासोलाई मध्यनजर गर्दै प्रबासी नेपाली एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेलले तत्काल यो लागू नगर्न नेपाल सरकारलाई आग्रह गरेका छन् । ‘नेपाल सरकारले प्रबासमा रहेका आम नेपाली श्रमिकहरुले हासिल गरेको ज्ञान र सिपको तथ्यांक संकलन गर्नका लागि नया बिधि अपनाएकाले तत्कालका लागि सहजै कार्यान्वयन गर्न असम्भव छ’, पोखरेलले भने । उनले जनताको मर्मलाई आत्मसाथ गर्दै नेपाल सरकारको श्रम मन्त्रालयले यी बिषयलाई परिमार्जन गर्नु अहिलेको आवश्यकता भएको बताए । पोखरेलले भने–‘श्रमिकहरुले आर्जन गरेको सीपलाई तथ्यांकमा समेट्न कुनै समस्या नहोला तर आफ्नो करार अबधि पश्चात् नया भिसा लगाएर नेपाल गएकालाइ सहजै रुपमा श्रम गर्न दिनुपर्छ ।’ यी बिषयमा रोक लगाउँदा अझै बढी समस्या सृजना हुनसक्ने, श्रमिकहरुले दुख पाउने भएकाले तत्काललाई रोक्न पोखरेलले अनुरोध गरे ।
हाल कतारमा रहेका एनआरएनए आईसीसि सदस्य रमेश भट्टले नियत सही भएपनि व्यवहारिक रुपमा तत्काल लागू गर्न यो सहज नभएको बताए । उनले यसबारेमा नेपाली नियोग पनि अनभिज्ञ नभएको बताए । यदि सरकारले यसलाई जबरजस्ती लागू गर्न चाहने हो भने हजारौं युवाले रोजगारी गुमाउने निश्चित भएको भट्टले दाबी गरे । बैदेशिक रोजगार विभागले विदेशस्थित सबै कूटनीतिक नियोग र विशेषगरी यूएईको आबुधावी, कतारको दोहा, साउदी अरबको रियाद, नेपाली दूतवास कुवेत, नेपाली दूतावास बहराइन मानमा, नेपाली दूतावास ओमान मष्कट र मलेसियालाई पत्र लैख्दै उक्त आग्रह गरेको थियो । विभागको आग्रहपछि कतारस्थित नेपाली दूतावाससहित अन्य देशका दुताबासले विज्ञप्तिमार्फत नेपाल जानु अघि आफ्नो कम्पनीबाट आफुले गरिरहेको कामको प्रमाणपत्र लिन नेपालीहरुलाई अनुरोध गरेको थियो । विभागले कतिपय कामदारहरु अन्य पेशामा काम गर्न जाने तर भिसा भने ड्राइभर र अपरेटरजस्ता सीप आवश्यक पर्ने प्राविधिक पेशा उल्लेख हुने गरेबाट सीप प्रमाणित हुने कागजात पेश नभएसम्म पुनः श्रम स्वीकृति दिन असम्भव हुने बताएको छ तर यो नियम लागु भए धेरै नेपालीको रोजगारी गुम्ने पोखरेल बताउँछन ।
एनआरएनए कतारको ध्यानाकर्षण
वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि जारी गरेको सूचना प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए)कतारले ध्यानाकर्षण भएको जनाएको छ । विभागले मंगलबार जारी गरेको पुनः श्रम स्वीकृतिको लागी कामदारको भिसा र करारपत्रमा उल्लेखित पेशामा एकरुपता ल्याउनु पर्ने सूचनाप्रति बिहीबार गैरआवासीय नेपाली संघ कतारले प्रेस विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको हो । विभागले खाडी तथा मलेसियास्थित नेपाली राजदूतावासहरुलाई पठाएको पत्रमा पुनः श्रम स्वीकृतिको लागी कामदारको भिसामा उल्लेखित पेशा पुष्टि गर्ने प्रमाणपत्र लिएर आउन भनिएको थियो ।


गैरआवासीय नेपाली संघ कतारले जारी गरेको प्रेस बिज्ञप्तिमा बिभागले जारी गरेको सूचना ब्यबहारिक नभएकोले हजारौं कामदारको रोजगारी गुम्ने खतरा रहेको भन्दै तत्काल स्थगन गर्न माग गरिएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र महासचिव पदम गिरिले हस्ताक्षर गरेको प्रेस बिज्ञप्तिमा भिसामा जे लेखिएता पनि कामदारहरु आफनो दक्षता अनुसारको काम गर्दै सो बापतको पारिश्रमिक बाट सन्तुष्ट रहेको भन्दै बिभागले उल्लेख गरेको प्रावधान पूरा गर्न सम्भव नहुने भनिएको छ । साथै बिज्ञप्तिमा कामदारले तत्काल चाहेर पनि आफ्नो पेशा परिवर्तन गर्न सम्भव नरहेको भन्दैं नेपाल गएर पुनः फिर्ता हुने कामदार श्रम स्वीकृतिको लागि सेटिङ्गको नाममा ठगिने र अनियमितता बढ्न सक्ने आशंका व्यक्त गरिएको छ ।
गैरआवासीय नेपाली संघका प्रवक्ता सन्तोष क्षत्रीले बिभागले अगाडि सारेको प्रावधानबाट ३ लाख पचास हजार भन्दा बढी कामदार कार्यरत रहेको कतारका हजारौं कामदार प्रभावित हुने बताए । साथै उनले वैदेशिक रोजगारीलाई ब्यबस्थित र मर्यादित बनाउनको लागी नेपाल सरकारले चाल्ने सकारात्मक कदममा आवश्यक छलफल र रचनात्मक सहयोगको लागि गैरआवासीय नेपाली संघ कतार सदैव तत्पर रहेको बताए ।

निर्णयले कामदारकै हित : विभाग
बैदेशिक रोजगार बिभागका महानिर्देशक भिष्मकुमार भुषालले विभागको निर्णयले कामदारकै हित हुने दाबी गरे । भुषालले विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुले यहाँबाट विगतमा जुनसुकै पेशामा जान भनेर श्रम स्वीकृति लिएर गएको भएतापनि फेरी फर्केर जाने इच्छा गरे आफूलाई जुन काममा लगाइएको छ अब भिषा नवीकरण गराउँदा त्यसमै नवीकरण गराएर आउनुहुन र त्यही पदको करारपत्र लिई नेपाल फर्कनुहुन अनुरोध गरे । ‘अहिले १० बर्ष अघि श्रमिकको रुपमा विदेश पुगेर अहिले सुपरभाइजर वा म्यानेजर भैसकेका कतिपय नेपाली दाजुभाइ दिदीबहिनीहरु पनि पुनः श्रम स्वीकृतिको लागि आउनुहुन्छ तर उनिहरुको पासपोर्टमा उही जनरल लेबरको पुनः श्रम स्वीकृति दोहोरिइरहेको हुन्छ । यसले उनीहरु स्वयंलाई पनि असहज भएको छ’, भुषालले बताए । त्यसैले अहिले जुन पदमा पुगिएको छ त्यही पद भिषामा उल्लेख हुनु उहाँहरुको अधिकार मात्र होइन आत्म सम्मानको कुरा पनि भएको बताउँदै भुषालले भने–‘कामदारले अहिलेको पदको करारपत्र, बढुवाको पत्र वा अन्य सम्बन्धित कागजात लिएर आउँदा उहाँहरुलाई गर्व नै हुनुपर्दछ । आगामी दिनमा अन्यत्र मुलुकमा रोजगारीमा जान चाहेमा पनि त्यस्ता विवरणहरुले उहाँहरुको अनुभव प्रमाण गर्न सहयोग पुग्छ ।’


भुषालले विभागको नयाँ व्यवस्थाले नेपालमै पनि स्वरोजगारको लागि सहुलियतपूर्ण ऋण प्राप्त गर्न वा आफ्नै पेशा गर्न समेत सहयोग पुग्ने, वैदेशिक रोजगार बोर्डले निशुल्क सीप परीक्षणको तयारी समेत गरिरहेकोले भविष्यमा तालिम प्राप्त जनशक्ति वैदेशिक रोजगारीमा जाने अवसर आउँदा त्यस्ता सीप र अनुभवका प्रमाणपत्रबाट सम्बन्धित व्यक्तिलाई नै सहयोग पुग्नेसमेत बताए ।
भुषालका अनुसार जो बिदामा नेपाल आइसकेका छन् र उनीहरुको विवरण फरक परेकोले पुनः श्रम स्वीकृतिमा समस्या देखिएको छ । उनीहरुका लागि वैदेशिक रोजगार विभागले आजैदेखि वैकल्पिक व्यवस्था गरेको र कार्यरत कम्पनीले जुन पदमा काममा लगाइरहेको थियो, कामदार कम्पनीमा पुगेपछि सोही पदमा करारपत्र र भिषा लगायतका कागजात अद्यावधिक गरिदिने प्रतिबद्धतापत्र वैदेशिक रोजगार विभागको आधिकारिक इमेल मयाभ)पबतज२मयाभ।नयख।लउ मा प्राप्त भएपछि त्यसको आधारमा पुनः श्रम स्वीकृति दिइने बताए । ‘जुन ब्यक्तिले नेपालबाट कम्पनीमा कुरा गर्ने क्षमता राख्नुहुन्न, उहाँहरुका लागि कम्पनीमा कार्यरत साथीभाइहरुले ज्च् म्ष्खष्कष्यल मा भनेर साथीहरुका लागि प्रतिवद्धता सहितको इमेल पठाइदिन अनुरोध गर्न सक्नुहुनेछ । प्रतिबद्धतापत्रको ढाँचा वैदेशिक रोजगार कार्यालय ताहाचलबाट उपलब्ध हुन्छ’, भुषालले भने । विभागले नयाँ व्यवस्था श्रमिकको सुरक्षा र कानूनको पालना दुबै हिसाबले अपरिहार्य रहेको बताएको छ ।
‘सुधारको मार्ग शुरुमा असहज र झ्याउलाग्दो हुन्छ । तर, यसले हाम्रो भविष्य सधै सुरक्षित गर्छ । त्यसो हुनाले विभिन्न देशमा रहेका गैर आवासीय नेपाली संघ तथा नेपालीहरुको हितमा खोलिएका संघसंस्थाहरुले नेपालीहरुलाई हरेक हिसाबले सुरक्षित बनाउनका लागि उनीहरुको कानूनी अधिकारको रक्षा गर्न आवश्यक पहल गर्दै सुरक्षित, शोषणरहित, मर्या्दित वैदेशिक रोजगारको सरकारको लक्ष्य हासिल गर्न हातेमालो गर्ने अपेक्षा लिएका छौं’, भुषालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार