काठमाडौँ(जस)–नेपाली सिनियर क्रिकेट टिमले नेपाल टुरमा आएको मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) लाई पराजित गरेको छ । नेपालले एमसीसीलाई ५ विकेटले पराजित गरेको हो । नेपालले पुर्व कप्तान पारस खड्का र स्टार लेग स्पिनर सन्दीप लामिछाने बिना नै एमसीसीविरुद्ध यो खेलमा जित हासिल गरेको छ । एमसीसीले दिएको २०२ रनको लक्ष्य पछाएको नेपाली टिमले ३७.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । नेपालको जितमा विनोद भण्डारीले अविजित ५२ रन बनाए भने पवन सराफले अविजित ३८ रन बनाएका थिए । त्यस्तै शरद भेस्वाकरले २४, दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएका थिए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्लले १० रन बनाए भने इशान पाण्डेले ४ रन बनाएका थिए ।
यस अघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसीले ३९ ओभरमा अल आउट हुँदै २०१ रन बनाएको हो । एमसीसीका लागि विल रोडसले सर्वाधिक ५४ रन बनाए भने विल्ली गोडलम्यानले ५२ रन बनाएका थिए । त्यस्तै वील भांडर्स्परले ३६ र टम वेस्लीले १० रन बनाएका थिए । एमसीसीविरुद्ध पवन सराफ र ललित राजबंशीले सर्वाधिक ४–४ विकेट लिएका थिए । पवनले ८ ओभरमा एक मेडनसहित ३१ रन दिएर ४ विकेट लिए भने ललितले १० ओभरमा एक मेडनसहित ४० रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै अविनाश बोहोरा र करण केसीले एक एक विकेट लिएका थिए । अब नेपालले एमसीसीविरुद्ध बुधबारदेखि फस्र्ट क्लास खेल खेल्ने खेल तालिका रहेको छ भने शनिबार नेपाली राष्ट्रिय टिम र अन्डर १९ टिमको मिक्स टिमविरुद्ध टी–२० खेल खेल्ने छन् ।